काठमाडौं । स्कटल्यान्डमा जारी टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ।
ग्लास्गोमा भएको खेलमा अघिल्लोपटक तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले नेदरल्यान्ड्सलाई हराएको हो। सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशलले ६१ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गरे । यस्तै, आरिफ सेखले रिटायर्ट हर्ट हुनुअघि २३ बलमा तीन चौका र दुई छक्कासहित ३९ रन थपे । भीम सार्कीले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । लोकेश बम १२ रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका बेन फ्लेचर, आयर्न दत्त, जाच लायोन क्याच्ट र रोइलोफ भान डेर मार्वेले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको डच टोली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा थियो ।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे ।
नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।
यो जितसँगै नेपालले शृंखलाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । नेपालले यसअघिका दुई खेलमा समान एक जित र एक हारको नतिजा आत्मसात गरेको थियो । ने
यो जितसँगै नेपालले तीन खेलबाट चार अंक जोडेको छ । नेपालले अब शुक्रबार शृंखलाको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्नेछ ।


































