काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यसबारे रौतहटमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफू निर्दोष रहेको दाबी गरेका हुन् । उनले भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’
आफूले कुनै अनुचित कार्य नगरेको र त्यस किसिमको कार्यलाई कहिल्यै प्रोत्साहन नदिएको उनले जिकिर गरे । पत्रकारको जिज्ञासामा उनले थपे, ‘अहिलेसम्म के भएको छ, मलाई जानकारी छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्ने अवस्था छ ।’





































