काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच वैशाख २७ गते पार्टी एकता गर्ने भएका छन् । यी दुई पार्टीले लामो कसरत र छलफलपछि पार्टी एकताको निष्कर्ष निकालेका हुन्।
‘यही वैशाख २७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणाको तयारी गर्दैछौं,’ जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले भन्यो। अरूहरूले परिवारमा झगडा लगाएर फुट ल्याएर, पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर एकता भाँड्न खोजेको पनि अध्यक्ष राउतले आरोप लगाएका छन्।
जनमत र नाउपाबीच नेतृत्व, पार्टीको नीति र चुनाव चिह्न पनि टुंगो लागिसकेको दुवै पार्टीले बताएका छन्।
एकीकृत पार्टीको नेतृत्व सिके राउतले गर्नेछन्। नाउपा संरक्षक रेशम चौधरी एकीकृत पार्टीको पनि संरक्षक र अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयतासहित सहअध्यक्ष हुनेछिन्। चौधरीको वरीयता स्थान पहिलो रहनेछ।
एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी टुंगो लागेको छ भने चुनाव चिह्न नाउपाले प्रयोग गर्दै आएको ढकिया हुनेछ। पार्टीको झन्डा कलेजी रङको पृष्ठभूमिसहितका आयताकार र पृष्ठभूमिमा सेतो रङको पिँधसहितको ढकिया हुनेछ। एकीकृत पार्टीको केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ।
‘धेरै पार्टी शक्तिहरूको अहिले निद्रा उडेको छ। किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ,’ जनमत अध्यक्ष राउतको सचिवालयले भनेको छ।