३० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय व्यवसायी हुन्– सागर पाण्डे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोरखाको प्रकृतिमा हुर्किएका उनले समयसँगै आफ्नै क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना देखे ।
पढ्नका लागि काठमाडौं आउँदा उनले पर्यटनका क्षेत्रमा काम गर्ने अवसर पाए। पाएको अवसरलाई सदुपयोग गर्दै पर्यटनकै क्षेत्रमा एकपछि अर्को खुड्किलो पार गर्दै गए अनि सन् १९९८ मा हिमालयन ग्लासियर ट्रेकिङबाट व्यवसायमा हात हाले । व्यापारले उनको सम्बन्ध बढाउँदै लग्यो र २००३ मा होटल इन्काउन्टरको स्थापना गरे । देश–विदेशमा पर्यटनको अनुभव हासिल गरेका उनलाई आफ्नो लागि मात्र नभएर पर्यटन क्षेत्रबाट समाजका लागि पनि योगदान दिनु थियो । सोही सोचका साथ नेपाल पर्वतारोही संघ (टान)को नेतृत्वमा आउन चाहे । उनको चाहनामा व्यवसायीहरूको पनि समर्थन रह्यो, जसकारण भदौ सुरुवातदेखि उनी टानको नेतृत्वमा छन् । सामुहिकतामा विश्वास गर्ने उनी निरन्तरताका लागि नभई साँच्चै केही गरेर देखाउन आएको दाबी गर्छन् । देशको समग्र पर्यटनको अवस्था र टानको आगामी कार्ययोजनाका बारेमा खरी म्यागजिनले उनै सागर पाण्डेसँग गरेको कुराकानीः–
सबैभन्दा पहिला त टानको अध्यक्ष निर्वाचित हुनुभएकोमा तपाईंलाई बधाई । बलियो सत्ता गठबन्धन एकातिर र तपाईं अर्कोतिर हुँदा समेत अध्यक्षमा निर्वाचित हुनुभयो, कसरी सम्भव भयो ?
बधाईका लागि धन्यवाद । हामीले व्यवसायमा राजनीति हैन, व्यावसायिक लाभलाई अगाडि सारेका थियौँ । सक्षम व्यवसायीहरूको टिम भयो भने नै व्यवसायीहरूको पिरमर्का र एजेन्डालाई सम्बन्धित ठाउँमा प्रतिनिधित्व गर्नसक्छ भन्ने आवाजहरू उठाएका थियौँ । सायद मेरा त्यही विषयलाई आत्मसाथ गर्दै व्यवसायी साथीहरूले राजनीतिक तवरबाट नभई व्यावसायिक रूपमा नै अगाडि जानुपर्छ भन्ने सोचका साथ मत जाहेर भएको हुनुपर्छ । मैले त्यसरी नै बुझेको छु ।
अध्यक्ष पदसँगै तपाईंसामू जिम्मेवारी र चुनौतीहरूको पनि चाङ छ । यसबीचमा पहिलो प्राथमिकता चाहिँ के मा रहन्छ ?
पहिलो प्राथमिकता भनेको पर्वतीय पर्यटनमा देखिएका समस्याहरूलाई समाधान गर्नु हो । गाइड र पोर्टरको समस्याको विषय छ, भ्याटको विषय छ, खर्च विवरणहरूको भपाईको इश्यू छ । मासिँदै गएका पदमार्गहरू जर्गेना गर्ने अथवा त्यसको वैकल्पिक रुटहरूको विषय छन्, क्लाइमेट चेन्जका इश्यूहरू पनि छन् । प्रतिस्पर्धाका कारण प्याकेजहरूको मूल्य घटाउनुपरेको अवस्था छ । त्यसलाई पनि सम्बोधन गर्नुपर्नेछ ।
नेपालको हवाई क्षेत्रमा विषयहरूका कारण पनि पर्यटन क्षेत्र बढ्न सकेको छैन । नेपालको एयरलाइन्सलाई युरोपियन युनियनले कालोसूचीबाट हटाउन सकेको छैन । यी लगायतका विषय समाधानका लागि पनि लबिइङ गर्नुपर्ने छ । यीमध्ये कतिपय समस्या टानको कार्यसमिति आफैँले समाधान गर्न सक्ने किसिमका छन् भने कतिपय समस्या समाधानका लागि अन्य निकायहरूसँग पनि समन्वय गर्न जरुरी छ । त्यसलाई हेरेर हाम्रो कार्यसमिति अगाडि बढ्छ ।
पदयात्री र पर्यटक फेक रेस्क्यू गरेको विषयमा त सुन्नुभएकै होला । यसमा तपाईंहरू खासै बोलेको सुनिँदैन । किन यस्तो ?
यो अन्तर्राष्ट्रिय रूपमा पनि उठेको विषय हो । यो छानबिनको दायरामा पनि अगाडि बढेको छ । सम्बन्धित निकायले आफ्नो कारबाही अगाडि बढाइरहेको होला । केही समयअघि मात्र हामीले कार्यभार ग्रहण गरेको हुनाले यसबारेमा हामीले पनि बुझ्दैछौँ ।

पर्यटन क्षेत्रमा तपाईंको अनुभव लामै छ । खासमा पर्यटन क्षेत्रको वर्तमान अवस्था कस्तो पाउनुहुन्छ ?
चुनौतीका बीचमा नै सम्भावनाहरू बन्ने हुन् । तत्काल हाम्रो पर्यटन क्षेत्रमा प्रगति नभएका कारण पनि मानिसमा निराशा छ । अब पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा राज्य र निजी क्षेत्रले समन्वयकारी भूमिका आवश्यक छ । यसले पर्यटन क्षेत्रलाई राम्रो बनाउँछ भन्ने लाग्छ । हामीले ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने पर्यटनमा भविष्य छ ।
अक्टोबरदेखि डिसेम्बरसम्म पर्यटनका लागि सिजन नै भन्छन्, पर्यटन बोर्डको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा नेपाल आउने पर्यटकको संख्या पनि बढेको देखिन्छ । अहिले बुकिङहरूको ट्रेन्ड कस्तो छ ?
ठ्याक्कै डेटा मसँग पनि भएन । तर, अक्टोबर र नोभेम्बर पर्यटक आउने सिजन नै भएकाले पनि बुकिङहरू राम्रै छ। होटलहरू पनि प्राय बुकिङ भइसकेको भन्ने छ । यो दुई महिना त समस्या छैन ।
पर्यटन विभागका अनुसार नेपालमा पर्यटकको संख्या बढे पनि प्रति पर्यटक खर्च हुने रकम बढेको देखिँदैन । के लक्जरी पर्यटकको रोजाइमा नेपाल नपरेको हो ?
एक हिसाबले भन्दा हो । डिमान्ड र सप्लाइले नै मार्केटको प्राइस निर्धारण गर्छ । जब पर्यटकहरू बढ्न थाल्छन्, यहाँका होटलका रुमहरू भरिन थाल्छन्, तब उनीहरूले लिने प्याकेज र रुमको रेटहरू पनि बढ्दै जान्छन् । म पर्यटन क्षेत्रमा लागेको ३० वर्ष भयो। भर्खर–भर्खर लाग्दा पाँच/छ लाख पर्यटक आउँथे भने अहिले बल्ल–बल्ल १० लाख पुगेको छ ।
मेरो ट्रेकिङ कम्पनी २१५ मा रजिष्टर भएको थियो भने अहिले २४ सयभन्दा बढी कम्पनी रजिष्टर छन् । अहिले कम्पिटिसन प्राइसमा छ । जुन रूपमा पर्यटकको संख्यामा वृद्धि भयो, त्यो भन्दा धेरै पर्यटकलाई सेवा दिने संस्था भएपछि यसको मूल्य घट्ने नै भयो। समग्र पर्यटन क्षेत्रकै विकास नभएसम्म मूल्य पनि बढ्दैन ।
केही फाइभ स्टार होटलहरूले त्यस अुनसारको रकम लिए पनि अन्य होटल तथा व्यवसायीले त्यसअनुसार लिन सकेका छैनन् । त्यो भनेको पर्यटन आगमनमा कमी भएरै हो ।
देशमा ३० लाख पर्यटक आए भने रेट पनि बढिहाल्छ नि ! अहिले पनि फोर स्टार होटलको प्रति दिनको मूल्य ७०/८० डलर तिरेको छ भने पर्यटक बढे १५० डलरसम्म मूल्य तिर्नुपर्ने हुन्छ । डिमान्ड र सप्लाइको नियमलाई पनि हामीले भुल्नुभएन । पर्यटन क्षेत्रमा लगानी भइरहने तर पर्यटक नै आएनन् भने त्यसले असर गर्ने भनेको मूल्यमा नै हो । हाम्रो ध्यान पनि पर्यटक बढाउनमै छ । पर्यटक आउने बित्तिकै उनीहरूले गर्ने खर्च बढिहाल्छ नि !

सडक विस्तार लगायतका विकास निर्माणले गर्दा पदमार्गप्रति पर्यटकको आकर्षण घटेको छ । यसले पनि अर्थतन्त्रमा प्रभाव पार्ला नि है ?
अवश्य ! त्यो त परिहाल्छ नै । लमजुङबाट मनाङ जाने बाटोकै कुरा गरौँ । पहिला बेसीशहरबाट पर्यटक हिँड्थे र बाटोमा भएका रेष्टुरेन्टहरूमा खर्च गर्थे । अहिले गाडीमा एकैपटक पर्यटक चामे पुग्ने अवस्था छ। यसले ट्रेकिङको बसाइ छोट्टिने हुन्छ । त्यसले स्थानीय होटल तथा रेस्टुरेन्टदेखि राज्यले लिने ट्याक्स र रोजगारीमा समेत असर गर्छ । त्यसका लागि पर्यटकको संख्या र उनीहरूको बसाइ अवधि बढाउनका लागि आवश्यक कदमहरू चाल्नुपर्छ ।
पदमार्गका पूर्वाधार र पर्यटकहरूको सुरक्षाको अवस्था दयनीय नै देखिन्छ, यसमा तपाईंहरूको ध्यान पुगेको छ कि छैन ?
पर्यटक सुरक्षामा नेपालमा त्यस्तो समस्या छैन । नेपाल संसारकै सुरक्षित देशहरूमध्येमा पर्छ । ट्रेकिङको सन्दर्भमा पर्यटकहरू आफूलाई थाहै नभएको ठाउँमा गाइड नलिई एक्लै जाँदा समस्यामा परेका छन् । त्यसकारण हामीले ट्रेकिङ कम्पनीमार्फत प्याकेज लिएर मात्र जाने व्यवस्था मिलाउने नीति ल्याउन लबिइङ गर्दैछौँ । त्यसो हुँदा देशमा रोजगारी पनि बढ्ने, अर्थतन्त्रमा टेवा पुग्ने, ट्याक्स पनि बढी उठ्ने र पर्यटक पनि सुरक्षित हुन्छन् ।
अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महङ्खवपूर्ण रहन्छ । यसमा तीन तहका सरकारसँग समन्वयकारी भूमिका कस्तो छ ? सरकारबाट के अपेक्षा राख्नुभएको छ ?
सरकारबाट अपेक्षा केही पनि छैन । व्यवसायीले समय सापेक्ष उठाएका कानूनी प्रश्नहरूलाई हल गरिदिए पुग्छ । सरकारबाट निजी क्षेत्रले खोज्ने भनेको कानूनी सहजता नै हो । लगानी लगायतका अन्य काम त निजी क्षेत्रले गरिहाल्छ नि !
र अन्त्यमा
निजी क्षेत्रले पनि एक ठाउँमा आएर यी आवाजहरूलाई एकीकृत रूपमा सम्बन्धित ठाउँमा लबिइङ गर्न आह्वान गर्न चाहन्छु । साथै राज्यले निजी क्षेत्रले उठाएका विषयहरूलाई कानूनी रूपमा सहज बनादिएर समय सापेक्ष बनाउन सके नेपालको पर्यटन विकास हुन्छ ।



































