स्याङ्जाको मध्यम वर्गीय किसान परिवारमा ५० वर्षअघि जन्मिए अम्बिका प्रसाद पौडेल । परिवारमा अध्ययनलाई धेरै महत्व दिने र पढ्नुपर्छ भन्ने मान्यताका कारण उनले त्यसै अुनसार आफ्नो अध्ययनलाई अगाडि बढाए ।
परिवारले पनि उनलाई साथ दियो । यद्यपि किसान परिवार भएकाले खेतबारीमा काम भने नियमित नै गर्नुप¥थ्यो । सानै उमेरदेखि मिहिनेती पौडेलले गाउँकै स्थानीय विद्यालयबाट २०४४ सालमा एसएलसी पास गरे । त्यसबेला दैनिक २१ किलोमिटर बाटो ओहोरदोहोर गर्थे उनी ।
उनले सम्झिए, ‘एसएलसीको कुरा गर्दा मलाई ९ र १० कक्षा पढ्न दैनिक २१ किलोमिटरको जंगलको बाटो हिँडेर जानुपर्ने अवस्था सम्झन्छु ।’
एसएलसीपछि गाउँमा पढ्ने विद्यालय धेरै टाढा भएकाले उनी प्रवीणता प्रमाणपत्र पढ्नकै लागि पोखरा झरे । गाउँमा जन्मिएको उनलाई शुरुवाती अवस्थामा पोखरा निकै नौलो थियो । तर, दुई वर्षको बसाइमा उनी त्यो वातावरणमा घुलमिल भइहाले ।
उनी भन्छन्, ‘गाउँबाट पोखरा आएर पृथ्वीनारायण क्याम्पस भर्ना भएँ ।
सुरुवाती अवस्थामा केही गाह्रो तर बानी परेपछि सजिलो हुँदै गयो ।’ पोखरामा प्रवीणता प्रमाणपत्र सकेपछि उनले राजधानी काठमाडौं छिर्ने निधो गरे । उनका लागि काठमाडौं पनि नौलो थियो । काठमाडौं आएपछि शंकरदेव क्याम्पसमा स्नातक तहमा बीकममा भर्ना भए र एमबीएस पनि त्यहीँबाट उत्तीर्ण गरे ।
स्याङ्जामा अधिकांश मानिस सरकारी जागिरमा छन् । उनको लागि पनि पारिवारिक माहोल त्यस्तै बन्दै गयो । एमबीए उत्तीण गरेपछि विवाह गरे । विवाहपछि उनी आफैँलाई पनि एउटा स्थायी कमाइ हुने जागिरको आवश्यकता महसुस गरे ।
उनी सम्झन्छन्, ‘स्याङ्जामा हुर्केको भएर विवाहपछि एउटा स्थायी जागिर चाहिन्छ भन्ने परिवेश भयो त्यसपछि मात्र हो निजामती सेवातर्फ लागेको ।’
सरकारी जागिर खानुअघि बीकम पढ्ने समयमा उनले केही निजी कम्पनीहरूमा जागिर गरिसकेका थिए । निजी कम्पनीमा जागिर खाने क्रममा नै उनी पुँजी बजारमा लगानी गर्न थालिसकेका थिए । आफ्नो आम्दानीबाट हुने केही रकम जोगाएर उनले सेकेन्डरी मार्केटमा समेत कारोबार गर्थे ।
१० वर्ष सरकारका विभिन्न कार्यालयहरूमा लेखा अधिकृतको रूपमा काम गरेपछि उनी २०६५ सालमा निजामती सेवाबाट बिदाइ भए । उनलाई पुँजी बजारको चास्नीको स्वाद पाइसकेका थिए । पहिल्यैदेखि निजी क्षेत्रमा काम गरेको र व्यवसायतर्फ झुकाव बढी भएर होला उनले निजामती सेवालाई चटक्कै माया मारे ।
‘सुरुवातदेखि नै पुँजी बजारमा लागेकाले म निजामती सेवामा लागिरहन उत्प्रेरित भइरहन सकिनँ । आफैँ केही गर्नुपर्छ भन्ने भावना भयो । पुँजीबजारमा काम गरेको भएर संस्थागत रूपमा पुँजी बजारमा काम गर्न सकिन्छ भन्ने सोचले नै हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड दर्ता गरेँ’, उनी अगाडि भन्छन् ।
त्यतिबेला उनले पुँजी बजारमा गरेको लगानीले केही आम्दानी दिइसकेको थियो । त्यसकै बलमा उनले २०६५ सालमा आइएमई, तत्कालीन किष्ट समूह, प्रभु समूह र अन्य ठाउँमा साझेदारी बढाए । ‘व्यावसायिक अन्य साथीहरूको सहभागितामा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड दर्ता गरियो,’ उनले भने, ‘त्यसपछि चन्द्रागिरी हिल्स लगायतका कम्पनीहरूमा हामीले काम ग¥यौँ ।’
चन्द्रागिरी हिल्सको सञ्चालक रूपमा काम गरेका उनले पछिल्लो समय बुढानीलकण्ठमा लेमन टी प्रिमियर नामको होटल सञ्चालनमा ल्याएका छन् । शिक्षा क्षेत्रमा बालकुमारीमा प्लस टुसम्मको विद्यालय कान्जिरोवा नेशनल स्कुल छ, जसको अध्यक्ष उनी आफैँ हुन् ।
‘हामीले नयाँ पिभीसी पनि दर्ता गरेका छौँ, इन्पेरियल इन्भेष्टमेन्ट फन्ड लिमिटेडको नाममा । उद्योगतर्फ दुई वर्षअघि समस्याग्रस्त रुपमा रहेको हाइलाइफ एग्रो एण्ड फुड इन्डस्ट्रिजलाई पनि टेकओभर गरेका छौँ’, उनी भन्छन्, ‘म जहाँ छु, जे छु स्टक मार्केटकै कारणले हो ।’
उनी अहिले चन्द्रागिरी हिल्स, मौलाकालिका दर्शन केबलकार, लुम्बिनी केबलकारमा पनि संलग्न छन् । वित्तीय क्षेत्रतर्फ आईजीआई प्रुड्युन्सियल इन्स्योरेन्सको निर्देशक, सिटिजन्स लाइफ इन्स्योरेन्सदेखि आइएमई लाइफ इन्स्योरेन्स हुँदै केही निर्जीवन बीमा कम्पनीहरूमा पनि संस्थापकको रूपमा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूमा पनि रहेका उनी त्यसको अलावा पुँजी बजारको दोस्रो बजारमा अधिकांश कम्पनीको सेयर खरिद बिक्री गर्दछन् ।
‘निजी क्षेत्रका लागि कम्फर्टेबल सरकार’
विगत दुई/तीन वर्षलाई हेर्दा आर्थिक क्रियाकलापमा संकुचन आएको छ । राजश्व निरन्तर घटिरहेको र सरकारको पुँजीगत खर्चमा पनि कमी आएको अवस्था छ । पछिल्लो केही समयको तथ्याङ्क हेर्दा क्रमशः राजश्वमा सुधार आएको छ । मान्छेको मनोविज्ञानमा पनि सकारात्मक सोच आएको देखिन्छ ।
अर्थतन्त्र कता गइरहेको छ भन्ने पहिलो बिम्व पुँजी बजारबाट देख्न सकिन्छ । अहिले देखिएको त्यही भएको बताउँछन् अम्बिका । आगामी दिन अझ धेरै राजश्व वृद्धि हुँदै जाँदा, सरकारप्रति विश्वास बढ्दै जाँदा र सरकारले स्थिरता पाउने पक्का हुँदै जाँदा पुँजी बजार त्यही किसिमले सकारात्मक रूपमा माथि जानेमा उनी विश्वस्त छन् ।
‘पुँजी बजार भनेको एक सातामै भनेको विन्दुमा घट्ने र भनेको विन्दुमा बढ्ने अवस्था हैन । यसले विस्तारै आफ्नो क्यारेक्टर देखाउँछ । पुँजी बजारलाई प्रभाव पार्ने आन्तरिक र बाह्य तत्व मजबुद हुँदै जाँदा पुँजी बजार स्वतः उकालो लाग्दै जान्छ’, उनी बताउँछन् । अम्बिकालाई पुँजी बजार सीमित व्यक्तिको हातमा छ भन्ने भनाइप्रति पूर्णतः असहमत छन् । उनी यसको कारण पनि स्पष्ट पार्छन् ।
‘अहिले पुँजी बजारको आकार र संलग्न हुने व्यक्तिको संख्या नै ३३ लाखभन्दा बढी छन् । ६४ लाखभन्दा बढी मानिससँग डिम्याड एकाउन्ट छन् । इन्टरनेट र स्मार्ट फोनको सुविधा भए विश्वको जुनसुकै कुनाबाट सेयर खरिद बिक्री गर्न सकिने अवस्था भइसक्यो । त्यसैले दुई/चार जनाले कन्ट्रोल गर्न सक्दैन’, उनी अगाडि थप्छन् ।
पुँजी बजारको आकार सानो (ब्रोकरको संख्या २५/३० जना र लगानीकर्ता चार÷पाँच सय) हुँदाको भाष्यलाई अहिलेसम्म लिएर आएको उनको भनाइ छ ।
‘नेपालको पुँजीबजार एकतर्फी हो, यहाँ वृद्धि हुँदा सबैले लाभ पाउने र घट्न थालेपछि नोक्सानी बेहोर्ने हुँदा घट्दा कसैलाई पनि फाइदा हुँदैन’, अम्बिका भन्छन् । उनी अहिलेको सरकारलाई पुँजी बजारले सकारात्मक रुपमा हेरेको समेत स्वीकार्छन् ।
‘तुलनात्मक रुपमा निजी क्षेत्रले यो सरकारलाई कम्फर्टेबल रूपमा हेरेको छ । यसलाई पछिल्लो समयमा देखिएको आर्थिक गतिविधिले समेत पुष्टि गर्छ ।’
स्थिर सरकार कहिले?
अस्थिर सरकारको असर प्रत्यक्ष रूपमा व्यवसायमा पर्ने भएकाले व्यवसायी जहिले पनि स्थिर सरकारको अपेक्षामा हुन्छन् । सरकार परिवर्तनपछि उनीहरूको कार्यशैली पनि फरक–फरक हुन्छन् अनि व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि ।
‘कुनै बेला लगानीको वातावरण छैन र कुनै बेला उत्साहित भएको देखेका छौँ । राजनीतिक स्थिरता भए मनोवैज्ञानिक रूपले पनि लामो समयसम्म काम ग¥थ्यो । म आज जति उत्साहित छु, भोलि र पर्सी पनि त्यति नै उत्साहित भएँ भने मात्र उद्यमहरूले प्रतिफल दिन थाल्छन्’, उनी थप्छन् ।
अहिले सरकारी नीति, बजेट र मौद्रिक नीति लगायतका विषयहरू राजनीतिक आस्थाका आधारमा फरक–फरक हुने भएकाले उद्यमीको मनोविज्ञान स्थिर रहन सक्दैन । यसले जुन किसिमले उद्यम फस्टाउनुपर्ने हो, त्यसरी फस्टाउन सकिरहेको छैन, त्यसले उद्यमीलाई प्रभाव त पार्छ नै!
नेपालमा वैदेशिक लगानी
नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि सरकार त्यसको वातावरण राम्रो बनाउनुपर्छ । विश्व बैंकले गरेको ‘डोइङ बिजनेस इन्डिकेटर’मा नेपाल १३५ नम्बरमा छ । यसलाई सुधार नगरेसम्म नेपालमा वैदेशिक लगानी नआउने उनको भनाइ छ ।
‘‘डोइङ बिजनेस इन्डिकेटर’मा सुधार गरौँ, लगानी त्यत्तिकै आउँछ । त्यसरी सुधार गर्दा स्वदेशी लगानीकर्ताहरूले विकल्प खोज्दैनन् र यहीँ लगानी गर्छन् । स्वदेशी उद्यमी जति बढी उत्साही हुन्छ, त्यसैको आधारमा विदेशी लगानीकर्ता आउने हो’, उनी बताउँछन् ।
‘देशमा सम्भावना छ’
अम्बिका देशमा सम्भावना नभएको भाष्य स्वीकार्दैनन् । राजनीतिक अस्थिरता र सहज लगानीको अवस्था नहुँदा अधिकांश युवापुस्ता व्यवसायमा प्रवेश गर्न डर मान्ने गरेको उनको भनाइ छ ।
‘नेपालमा सम्भावना हुँदै नभएको होइन । सबै वर्ग र क्षेत्रमा अथाह सम्भावना छन् । तर राजनीतिक अस्थिरता तथा आर्थिक क्षेत्रलाई कर्मचारीतन्त्र र राजनीतिले नबुझेको वर्तमान अवस्थामा सबैले झन्झटिलोपनमा प्रवेश गर्न संकोच हुन्छ ।’
विश्वभरको तथ्याङ्क हेर्दा उद्यम गर्न भन्दा जागिरमा रमाउनेहरूको संख्या बढी छ ।
उद्यमको जोखिम लिनेहरू एकदमै कम छन् । नेपालमा किन युवाहरू बसेनन् भन्ने प्रश्नको जवाफ त्यहीँ प्राप्त गर्न सकिने उनको भनाइ छ ।नेपालमा शिक्षा र स्वास्थ्य असाध्यै महँगो रहेको र जागिरले मात्र त्यस्तो आवश्यकता पूरा हुन नसकेपछि अधिकांश मानिसहरू विदेशिएका छन् ।
‘जागिर गरेपछि त्यही ठाउँमा एउटा सामान्य घर र गाडी होस् भन्ने सबैको हुन्छ । तर त्यो आवश्यकता जागिरबाट पूर्ण हुने अवस्था नभएपछि उहाँहरूको लागि नेपाल गन्तव्य हुन सकेन’, उनी थप्छन् । जागिरबाटै आफ्ना जिन्दगी चलाउनेहरूका लागि नेपाल गन्तव्य नभएकाले धेरै मानिस विदेशिएको अम्बिका बताउँछन् ।
‘देश छोडेर गएका युवाहरूका लागि कम्तीमा पनि आठदेखि १२ घण्टा काम पाउने ग्यारेन्टी छ । त्यसका अलावा छोराछोरीलाई विद्यालय शिक्षा र घर तथा गाडीको व्यवस्था गर्न सक्छ । जागिरबाटै आफ्ना जिन्दगी चलाउनेहरूका लागि हाम्रो देश गन्तव्य रहेनन् । त्यसैले धेरै मानिस बाहिर गएका हुन् ।’ उद्यम गर्छु अनि जोखिम नै लिन्छु भन्नेहरूका लागि नेपाल कमजोर ठाउँ नभएको उनको तर्क छ ।
‘आज पनि गज्जबले सकिन्छ । पहिलो पुस्ता जसरी व्यवसायमा आइरहेको छ, त्यो पुस्ता चाहिँ सफल देखेको छु,’ उनी भन्छन्, ‘जोखिम लिनेको संख्या नै कम भएपछि संख्या यसै कम हुने भइहाल्यो ।’