काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएको थियो ।
फार्मेसीहरुले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाईरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरि नै फार्मेसीहरुको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए ।
उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियम विपरित सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।
मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीले सोमबार साझ मन्त्री बस्नेत समक्ष टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका बिषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरुका अनुसार अर्कै फर्मासिस्टको सर्टिपिकेट राखेर फार्मेसी चलाइरहेकोको संख्या उल्लेख्य छ । त्यसैगरि विक्रि बितरण गर्ने अनुमती नै नल्याएर न्युटास्युटिकल सामग्रि पनि फार्मेसीबाट बिक्री बितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाईमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ ।



































