काठमाडौं । गत शुक्रबार बिहान ७ बजेदेखि हराएकी सानीमा क्यापिटल्सकी कर्मचारी शनिबार गाडीभित्रै मृत फेला परिन्। उक्त कम्पनीको नक्सालस्थित कार्यालयकी मर्चेन्ट हेड रश्मि रिजाल काठमाडौंको तारकेश्वरर नगरपालिका वडा नम्बर १ चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा आफ्नै गाडीको पछाडि मृत भेटिएकी हुन्।
बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा उनी जलेको अवस्थामा मृत फेला परे पनि सिट भने केही भएको थिएन। रश्मिको शरीर पनि धेरै जलेको अवस्थामा थिएन।
कार नजल्नु र मृतकको शरीर पनि धेरै नजलेको अवस्थामा फेला परेपछि घटना रहस्यमय रहेको आफन्तले दाबी गरेका छन् । तर घटना अनुसन्धानका क्रममा सीसीटीभी फुटेजबाट धेरै कुरा पत्ता लागेको प्रहरीले जनाएको छ। जुन प्रमाणले रश्मि आफैँले आगो लगाएको निष्कर्षमा प्रहरी पुगेको छ।
रश्मिको मृत्यु रहस्यमय ठानेको परिवारलाई पनि प्रहरीले उक्त फुटेज देखाएर घटनाको वास्तविकताबारे जानकारी गराएको छ। ४५ वर्षकी रिजाल अघिल्लो दिन नै घरबाट निस्किएकी थिइन्। तर त्यस दिन घर नफर्किएको र सम्पर्क पनि नभएपछि परिवारले प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
नुवाकोटको बेलकोटगढी नगरपालिकाको तादी घर भएको रिजाल परिवार काठमाडौँको मनमैजुमा बस्छ।
निवेदन परेपछि प्रहरी वृत्त बालाजुले खोजतलास गरिरहेको थियो। तारेकेश्वरको बालुवा प्रशोधन केन्द्रनजिकै एउटा गाडी शंकास्पद रुपमा रोकेर राखेको खबर प्रहरीलाई आयो।
परिवारले भनेको गाडी र त्यहाँ भेटेको गाडी एउटै भएको खुल्यो। तर गाडीमा कालो सिसा भएकाले भित्र केही पनि देखिएन। पछि प्रहरीले खोल्दा रश्मि पछाडिको सिटमा भेटिएकी थिइन्। तर गाडीको चाबी भने अगाडि नै थियो।
आफन्त समेतको उपस्थितिमा घटनास्थल पुगेर मुचुल्कालगायत कार्य गरेको प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठायो।
त्यसपछि प्रहरीले घटनास्थल आसपासको सीसीटीभी फुटेज पनि खोजी गर्यो। प्राप्त फुटेजबाट रश्मि एक्लै घटनास्थलमा पुगेको, आफैँले आगो लगाएकोलगायत कुरा खुलेको दाबी प्रहरीले गरेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार फुटेजमा रश्मि आफैँ कार चलाउँदै उक्त स्थानमा पुगेको देखिएको छ। त्यहाँ पुगेपछि उनले गाडी रोकेको देखिन्छ। त्यसपछि चालक सिटबाट उनी पछाडिको सिटमा आउँछिन्।
पछाडीको सिट पनि बन्द गर्छिन्। गाडीका सबै सिसा बन्द हुन्छन्। त्यसपछि भित्रै उनले आफैँलाई पेट्रोल छर्किएर आगो लगाएको दाबी प्रहरीको छ।
सबै सिसा बन्द भएका कारण गाडी जल्न नसकेको र उनको शरीरमा पनि जलन धेरै नभएको प्रहरीको दाबी छ। उनको मृत्यु जलन र अक्सिजन अभावमा भएको अनुमान प्रहरीले गरेको छ।
पोस्टमार्टमपछि आइतबार नै आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन्। साथै पीडित परिवारले घटना अनुसन्धानका लागि प्रहरी कार्यालयमा जाहेरी पनि दिएको छ । परिवारले घटनाको सत्यतथ्य पत्ता लगाई कसैको संलग्नता देखिए कानुनी कारबाही गर्न माग गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले ज्यान सम्बन्धी कसुरमा जाहेरी परेको जानकारी दिए।





































