काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
कर्णाली सरकारमा कांग्रेसबाट ४ जना मन्त्री थिए । आफूहरूले सामूहिक रूपमा राजीनामा दिइसकेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए।
‘मुख्यमन्त्रीज्यूलाई भेटेर हामीहरूले जनताको काम राम्रोसँग गर्नुहोला, हामीले मार्गप्रशस्त गर्यौं भनेका छौं,’ उनले भने।
कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने जमर्को हो भन्ने प्रश्नमा उनले भने, ‘अहिले हामीले त्यहाँसम्म सोचिसकेको छैन। मुख्यमन्त्रीज्यूलाई जनताको काम राम्रोसँग गर्नुहोस् है भनिएको छ।’ कर्णालीमा कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए।




































