काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) देशभर अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने र केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमस्तरको वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको छ। त्यसैगरी, तराई क्षेत्रतर्फ मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
विशेषगरी आज मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको जोखिम रहेका यी क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको खतरा उच्च हुने भएकाले यात्रा गर्दा र नदी तटीय क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।



































