काठमाडौं । प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयवासीबीच विवाद भएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा जिल्लाको हिमाली गाउँपालिका ३, लाम्पाटा र कर्णालीमा पर्ने हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका २ का स्थानीयवासीबीच विवाद भएको हो।
लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमाको विषयलाई लिएर दुई जिल्लाका नागरिकहरू विगत एक हप्तादेखि प्रतिकारमा उत्रिएका छन्। लामो समयदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गामा प्रहरी चौकी निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाएपछि हुम्लाका स्थानीयवासीले विरोध जनाएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर मल्लले जानकारी दिए ।
त्यहाँका स्थानीयले ‘प्रहरी चौकी बनाउने भए हाम्रो सरकारले बनाउँछ, बाजुराले हाम्रो भूभागमा बनाउँन पाइँदैन’ भन्दै विरोध जनाएका गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ।
प्रहरीको भवन निर्माणका लागि जग खनिसकेपछि हुम्लातर्फका स्थानीयवासी सम्बन्धित क्षेत्रमा पुगेर अवरोध गरेपछि निर्माण प्रक्रिया रोकिएको उनले बताए। उनले भने, ‘स्थानीयवासीहरूले विगतदेखिनै भोगचलन गर्दै आएको ठाउँमा यस्तो कार्य किन गरेको भन्दै प्रतिवाद गरेपछि काम रोकिएको छ।’
सोही विषयलाई लिएर मंगलबार दिउँसो पुनः स्थानीयवासीहरूबीच विवाद भयो। विवाद हुँदा हिमाली गाउँपालिका ३ का पाँच स्थानीय घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले विवादपछि झडप हुँदा हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मीनु कुँवर घाइते भएको जानकारी दिए।
उनका अनुसार हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी समेत सामान्य घाइते भएका थिए।
प्रहरी चौकीको भवन निर्माण र सीमा विवादको विषय पहिलादेखि उठ्दै आएकोमा मंगलबार थप विवाद भएको हो। उक्त विवादपछि झडप भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
उक्त विवाद हिमाली गाउँपालिका अध्यक्षसहित कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहितको टोली ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लियर सैपाल हिमालको बेस क्याम्प जान लाग्दा भएको थियो।
सैपाल हिमालको बेस क्याम्प जानका लागि उनीहरू प्रहरीको अस्थायी कार्यालय बनाउन लागेको स्थान लाम्पाटा, च्याचौर र रानीसैन भएर जाँदै थिए। सोही क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका स्थानीय आक्रोशित बनेर सबैलाई लखटेका थिए।
सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी भवन निर्माण गर्न ४० लाख रुपैयाँ बजेट छुट्याएको थियो। तर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले उक्त क्षेत्रमा विगतदेखि भोगचलन गर्दै आएको भन्दै चौकी निर्माण गर्न नदिने अडान लिँदै आएका छन्।


































