काठमाडौं । अन्नपूर्ण हेलिकप्टर प्रालिको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १० लाख रुपैयाँले घटेको हो ।
कम्पनीले सन् २०२४ मा ४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले ४ करोड ७० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले हालसम्म भने नाफा कमाउन सकेको छैन । कम्पनीले हेलिकप्टर सञ्चालनमा ल्याएदेखि नै घाटा व्यहोरिरहेको पाइएको छ । कम्पनीअनुसार उच्च निश्चित अपरेटिङ शुल्क र मर्मत खर्चका कारण हालसम्म नाफा कमाउन नसकेको उल्लेख छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले आन्तरिक हेलिकप्टर सेवा दिँदै आएको छ । कम्पनीले सुरुमा सन् २०२२ देखि व्यवसायिक कारोबार गरेको थियो भने दोस्रो हेलिकप्टर सन् २०२५ र तेस्रो हेलिकप्टर सन् २०२६ देखि सञ्चालनमा ल्याएका छन् । कम्पनीले हाल विभिन्न प्रकारका सेवा दिँदै आएको छ । जसमा कम्पनीले चार्टर फ्लाइट, रेस्क्यू फ्लाइट, पिल्ग्रिमेज फ्लाइटको सेवा दिँदै आएको छ ।
ज्ञानेन्द्र श्रेष्ठ अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७० करोड ७२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७० करोड २२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।





































