काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नारासहित ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका अनुसार २०८२ चैत २ गतेदेखि सुरु भएको साताव्यापी अभियान चैत ८ गते सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत बैंकले सातै प्रदेशमा रहेका २०० भन्दा बढी शाखामार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरेको जनाएको छ।
अभियानका क्रममा बैंकले आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा तथा डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिएको थियो। विशेषगरी समुदाय, महिला, बालबालिका, विद्यालय तथा कलेजलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
त्यसैगरी बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि वित्तीय सचेतना फैलाउँदै आएको छ। अज्ञात स्रोतबाट आएका लिंक नखोल्न, संवेदनशील विवरण साझेदारी नगर्न र डिजिटल ठगीबाट जोगिनुपर्ने विषयमा जानकारी प्रवाह गरिएको छ।
प्रदेशगत रूपमा हेर्दा वाग्मतीमा ४७, गण्डकीमा ५२, कोशीमा ३९, मधेशमा २९, लुम्बिनीमा १६, कर्णालीमा १४ र सुदूरपश्चिममा १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको थियो।
हाल प्रभु बैंकका देशभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको जनाएको छ।



































