काठमाडौं । काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
कोशी राजमार्ग, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, पृथ्वी लोकमार्ग तथा नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध बनेको छ।
नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा ती राजमार्गमा अवरोध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।
सोमबार १२ः२० बजेसम्म यी सडकहरू अवरुद्ध बनेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रहरीले जारी गरेको सूचना अनुसार बाढीका कारण उत्तरगया गाउँपालिका ५ नोबिसेस्थित गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु सडक एकतर्फी सञ्चालनमा छ ।
यसैगरी बागलुङको बागलुङ नगरपालिका १३ कालाखोलामा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि एकतर्फी सञ्चालनमा छ ।
बाढीपहिरोका कारण नवलपरासी पूर्वमा गैडाकोट नगरपालिका ३ स्थित तरङखोला, विनयी त्रिवेणी गाउँपालिका २ स्थित विश्वकर्मा मन्दिर र पैसठ्ठीमोडमा पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा छ ।
यसैगरी रुकुमको भुमे गाउँपालिका ४ काँडाबगरमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जारी गरेको सूचनामा छ ।






































