विमल खड्का, ढाेरपाटन । नेपाली कांग्रेसका स्थानीय नेता एवम् निर्माण व्यवसायी दिपककुमार अदैमाथि ढोरपाटन नगरपालिका वडा नम्बर १, खप्तरीबाङकी ७२ वर्षीया अनपढ वृद्धा दिलकुमारी कुमालको १० आना २ दाम जग्गा छलकपट गरी हडपेको गम्भीर आरोप लागेको छ।
करिब ७३ लाख रुपैयाँ मूल्य बराबरको जग्गालाई जम्मा ४ लाख रुपैयाँ मात्र दिएर आफ्नो श्रीमतीको नाममा जालसाजीपूर्ण रूपमा पास गराएको पीडित परिवारको दाबी छ। यस प्रकरणमा मालपोत कार्यालय बुर्तिबाङको भूमिका पनि शंकाको घेरामा परेको छ, जहाँ नक्कली कागजात प्रयोग गरी जग्गा पास गरिएको पाइएको छ।
पीडित वृद्धाको मार्मिक भनाइ : ‘बाटोले खायो भनेर मलाई झुक्याए’
पीडित दिलकुमारी कुमालले आफूलाई दिपक कुमार अदैले ‘बाटोले जग्गा खाइदिएको, बाँकी जम्मा २ आना मात्र रहेको र पछि पैसा पनि नआउनेु भन्दै पटकपटक झुक्याएर जग्गा पास गराएको बताएकी छिन्। न्यूज खरीसँग कुरा गर्दै ७२ वर्षीया दिलकुमारीले भनिन्, ‘म अनपढ मान्छे, उसले बाटोले तेरो जग्गा खाइदिएर २ आना मात्र बाँकी छ भनेर झुक्काएर पास गरायो। शुरुमा दुई लाख दिन्छु भनेकोमा पछि चार लाख रुपैयाँ दियो।’ उनलाई लालपुर्जा हेरेपछि मात्रै आफूलाई १० आना २ दाम जग्गालाई २ आना भन्दै झुक्याइएको थाहा पाएको उनको गुनासो छ।
जग्गा हडप्ने सुनियोजित प्रक्रिया : प्रतिलिपि लालपुर्जादेखि नक्कली भौचरसम्म
दिलकुमारीको नाममा रहेको जग्गाको सक्कली लालपुर्जा उनका कान्छा छोरा तेजबहादुर कुमालसँग थियो। दिपक कुमार अदैले सो लालपुर्जा लिन प्रयास गर्दा तेजबहादुरले दिन अस्वीकार गरे। त्यसपछि अदैले जालसाजीपूर्ण रूपमा गत बैशाख २३ गते ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बानबहादुर छन्यालसँग सिफारिस लिई मालपोत कार्यालय बुर्तिबाङबाट जग्गाको प्रतिलिपि लालपुर्जा निकाले।

सोही प्रतिलिपि लालपुर्जाका आधारमा निर्माणधिन बुर्तिबाङ बसपार्क नजिकै सदियारमा रहेको दिलकुमारीको कित्ता नम्बर ३६२ (०-४-३-२ क्षेत्रफल) र ९७१(०-५-३-० क्षेत्रफल) गरी कुल १० आना २ दाम जग्गा गत जेठ २७ गते मालपोत कार्यालय बुर्तिबाङमा अदैले आफ्नी श्रीमती खिमकुमारी भण्डारी अदैको नाममा पास गराए।

मालपोतमा उक्त जग्गा ७३ लाख रुपैयाँमा किनबेच भएको देखाइएको छ, जसअनुसार २ लाख १९ हजार रुपैयाँ रेजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर ३ लाख ६५ हजार रुपैयाँ गरी कुल ५ लाख ८४ हजार रुपैयाँ राजस्व अदैले बुझाएका छन्। तर, पीडित पक्षले भने जम्मा ४ लाख रुपैयाँ मात्रै दिएको दाबी गरेका छन्।

प्रक्रियामा देखिएका गम्भीर अनियमितता र जालसाजीका संकेत :
यस जग्गा पास प्रकरणमा कानुनी प्रक्रिया मिचेर गम्भीर अनियमितता भएको पाइएको छ, जसले छलकपटको आशंकालाई बलियो बनाएको छ:
- साँक्षीको चरम दुरुपयोग : जग्गा पास गर्दा विक्रेता (जग्गा बेच्ने) को पक्षबाट एकाघरको परिवार सदस्य साँक्षी बस्नुपर्ने कानूनी व्यवस्था छ। तर, यस प्रकरणमा जग्गा खरिद गर्ने खिमकुमारी भण्डारी अदैका श्रीमान् दिपक कुमार अदै आफैँ ७२ वर्षीया अनपढ वृद्धा दिलकुमारी कुमालको साँक्षी बनेका छन्। यो स्पष्ट रुपमा कानूनी व्यवस्थाको धज्जी उडाउँदै गरिएको कार्य हो। अदैले यसलाई लेखापढी गर्ने व्यक्तिले नाम राखिदिएकाले ‘बाइमिस्टेक’ भएको भन्दै पन्छिने प्रयास गरेका छन्।
- ७३ लाखको नक्कली बैंक भौचर प्रयोग : मालपोत कार्यालयमा ७३ लाख रुपैयाँ नगदै वा चेकबाट बुझाएको भन्दै खरिदकर्ताको तर्फबाट एउटा बैंक भौचर पेश गरिएको थियो। मुलुकी देवानी कार्यविधि संहिता २०७५ को दफा ४९ को उपदफा ३ बमोजिम भन्दै प्रभु बैंकको संयुक्त खाताबाट दिलकुमारी कुमालको नाममा काटिएको चेक गरिमा विकास बैंकमा जम्मा गरिएको भनिएको सो भौचर स्पष्ट रुपमा नक्कली रहेको पाइएको छ। गरिमा विकास बैंकका शाखा प्रबन्धक जितबहादुर गर्बुजाले मालपोतमा पेश गरिएको भौचरमा बैंकको स्ट्याम्प र कर्मचारीको हस्ताक्षर नभएको पुष्टि गर्दै त्यो नक्कली भएको बताएका छन्। अदैले आफूले चेक काटेको तर त्यो बाउन्स भएको र सोही चेकको भरमा भौचर पठाएको स्वीकार गरेका छन्, जसले मालपोतमा नक्कली भौचर पेश भएको तथ्यलाई पुष्टि गर्छ।
- मूल्यमा व्यापक अन्तर : सरकारी रेटअनुसार उक्त स्थानको जग्गा ४० देखि ४१ लाख रुपैयाँ बढी पर्ने भए पनि मालपोतमा ७३ लाख रुपैयाँ मूल्यांकन देखाइएको छ। तर, पीडित वृद्धालाई भने जम्मा ४ लाख रुपैयाँ मात्र दिइएको छ। यो मूल्यको व्यापक अन्तरले छलकपटको दाबीलाई बलियो बनाएको छ।
पीडित परिवारको कानुनी पहल र प्रहरीको भूमिका:
दिलकुमारीका कान्छा छोरा तेजबहादुर कुमालले आमाको अनपढ र सोझोपनको फाइदा उठाएर दिपक अदैले जग्गा हडपेको आरोप लगाए। ‘आमा एक्लै बस्नुहुन्छ, हामीले नै हेर्छौं। सक्कली लालपुर्जा हामीसँग थियो, हरायो भनेर प्रतिलिपि निकालेर पास गराइएको हो,’ उनले भने, ‘यस कामका लागि अदैले एक जना महिला कर्मचारी समेत खटाएका थिए।’ ४ लाखमा १० आना २ दाम जग्गा पास गराइएकोमा मालपोतमा भने ७३ लाखको कागज बनाएको भन्दै उनले यो पूर्णतः अन्याय भएको बताए।

जेठ २७ गते जग्गा पास भए पनि आफूहरूले अन्यायमा परेको थाहा पाएपछि असार ४ गते इलाका प्रशासन कार्यालय बुर्तिबाङमा निवेदन दिएको तेजबहादुरले जानकारी दिए। इलाका प्रशासन कार्यालयले सोही दिन इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई छलफलका लागि पत्राचार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक आनन्द बस्नेतले पुष्टि गरे। प्रहरीले अदै बाहिर रहेकाले छलफल हुन नसकेको बताएको छ। पीडित पक्ष अब न्यायका लागि अदालत जाने तयारीमा छन्।
मालपोत प्रमुख खड्काको शंकास्पद भूमिका र गैरजिम्मेवार जवाफ
दिलकुमारी कुमालको जग्गा पास प्रकरणमा मालपोत कार्यालय बुर्तिबाङका प्रमुख काशीराम खड्काको भूमिका अत्यन्तै शंकास्पद देखिएको छ। उनले स्पष्ट रुपमा नक्कली देखिएको ७३ लाख रुपैयाँको बैंक भौचरलाई सदर गरी जग्गा पास गराएका थिए। प्रमुख खड्काका कार्यहरूमाथि प्रश्न उठेको छ:
- बैंकको स्ट्याम्प र कर्मचारीको हस्ताक्षर नभएको, नक्कली भौचरलाई प्रमाणित गरी जग्गा पास गर्नु।
- कानुनी व्यवस्था विपरीत खरिदकर्ताकै श्रीमानलाई विक्रेताको साँची स्वीकार गर्नु।
- अनपढ वृद्धालाई उनको जग्गाको वास्तविक क्षेत्रफल र मूल्यबारे पर्याप्त जानकारी नदिई वा उनी जानकार छिन् भन्ने सुनिश्चित नगरी पास प्रक्रिया अघि बढाउनु।
यस विषयमा सोध्दा मालपोत प्रमुख खड्काले गैरजिम्मेवार जवाफ दिएका छन्। ‘लेखापढी दाईहरूले जे ल्याए त्यही प्रमाणित गरिदिएँ। साँझ परेको थियो, हतार थियो,’ भन्दै उनी पन्छिन खोजे। नक्कली भौचरको विषयमा सोध्दा ‘त्यो कुरामा अलि ख्याल गरिएन सर, उहाँबाट मैले च्याँ पनि खाएको छैन’ भन्नुले उनको भूमिकामाथि थप प्रश्नचिन्ह खडा गरेको छ। उनले ‘ती महिलालाई सोधेर पास गरिदिएको’ र छोराले अंश पाएकाले अदैलाई साँक्षी राखिएको भन्ने उनको दाबी पीडित परिवारको भनाइसँग बाझिन्छ।

आरोपित दिपक अदैको सफाइ : ४ लाख र पुरानो भाडा समायोजन गरी पास गरियो
यस प्रकरणमा आरोपित दिपक कुमार अदैले भने आफूले ४ लाख नगद दिएर जग्गा किनेको स्वीकार गर्दै पुरानो भाडा र बाटोले खाने जग्गाको मूल्य समायोजन गरिएको तर्क पेश गरेका छन्।
आफ्नो बचाउमा उनले भने, ‘१२ वर्षदेखि दिलकुमारीको जग्गा भाडामा लिएको थिएँ, सोही जग्गा नयाँ शहरले बाटो बनाउँदा खाइदियो। अहिलेसम्म फोकटमा भाडा तिरेको रहेछु भनेर आमालाई भनेपछि ४ लाख दिएर पास गरेको हुँ।’
उनले दिलकुमारीका छोरा बोमबहादुर कुमालसँग पनि सल्लाह गरेको दाबी गरे। ‘बाटोले पछि जग्गा खाइदिने र २ आना जति मात्र बाँकी रहने” भएकाले ४ लाखमै ल्याएको उनको तर्क छ।
७३ लाखमा किनबेच देखाउनुमा पीडितलाई बुझाएको ४ लाख र ‘विगत १२ वर्षदेखि फोकटमा तिरेको भाडा’ समायोजन गरिएको उनको अनौठो र अविश्वासिलो तर्क छ। उनले ७३ लाखको चेक काटेको तर त्यो बाउन्स भएर बसेको र सोही चेकको भरमा भौचर मालपोतमा पठाएको स्वीकार गरे, जसले मालपोतमा नक्कली भौचर पेश भएको तथ्यलाई पुष्टि गर्छ।
उनीहरूले जग्गा फिर्ता मागेको र कानुन अनुसार मिल्नेसम्म फिर्ता गर्ने बताए। साँचीको विषयमा भने उनले लेखापढी गर्ने व्यक्तिले आफ्नो नाम लेखिदिएकाले ‘बाइमिस्टेक’ साँक्षी बसेको भन्दै पन्छिन खोजे।
आफूले ४ लाख र ट्याक्स तिरेको दोहोर्याउँदै उनले कानुनले जे भन्छ त्यो स्वीकार गर्ने बताए। समग्रमा, दिपक कुमार अदैको भनाइ आफ्नो कार्यलाई ढाकछोप गर्ने र जालसाजीपूर्ण प्रक्रियालाई सामान्यीकरण गर्ने प्रयास जस्तो देखिन्छ।

७२ वर्षीया अनपढ वृद्धालाई झुक्याएर जग्गा हडपेको आरोप, मालपोत कार्यालयमा नक्कली भौचर प्रयोग र मालपोत प्रमुखको शंकास्पद भूमिकाले यस प्रकरणलाई थप गम्भीर बनाएको छ। पीडित परिवारले अब न्यायका लागि अदालतको ढोका ढकढक्याउने तयारीमा छन्।



































