काठमाडौं । भारतीय राज्य बिहारमा अभियुक्त पक्रन गएका एक प्रहरी निरीक्षक (इन्सपेक्टर) स्थानीयको कुटाइबाट मारिएका छन्।
भारतीय पत्रिका हिन्दुस्तानका अनुसार सूचनाका आधारमा अपराधी पक्रिन मंगलबार मध्यराति सहकर्मीसहित लक्ष्मीपुर गाउँ पुगेका इन्स्पेक्टर राजीवकुमार मल्ल स्थानीयको आक्रमणमा परी मारिएका हुन्। फुल्काहा प्रहरी थानामा कार्यरत इन्सपेक्टर मल्ल मंगलबार राति करिब १ः३० बजे फुल्काहा थानाको लक्ष्मीपुर गाउँमा भीडको कुटपिटबाट मारिएका हुन्।
उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा पनि लिइसकेको थियो। तर गाउँलेले आक्रमण गरी उसलाई प्रहरीबाट छुटाए। एसपी अञ्जनी कुमारका अनुसार अपराधी बचाउने क्रममा इन्स्पेक्टर मल्लसँग गाउँलेको झडप भयो।
उनी घाइते भएर भुइँमा ढले। उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भयो। कुटपिटबाट इन्स्पेक्टरको मृत्यु भएपछि बिहारमा अहिले हंगामा मच्चिएको छ।





































