बुटवल । पहिरो खसेपछि शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत गौडेपुल र चर्चरेको बीच कालीमाटी क्षेत्रमा पहिरो खसेको तिनाउ गाउँपालिका–३, का वडासदस्य टंक बस्यालले जानकारी दिए ।
सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा ठूलो पहिरो खसेको छ । स्थानीय बासिन्दाका अनुसार यही स्थानमा गत वर्ष पनि ठूलो पहिरो खसेको थियो । टेवा पर्खाल, ग्याभिन वाल नलगाएकाले पुनः खसेको हुन सक्ने स्थानीयले बताए । सडकमा पहिरो खसेपछि राजमार्गको सुनौलीदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध भएका छन् ।
राजमार्गकै सिद्धबाबा क्षेत्रमा निर्माण हुन गइरहेको सुरुङमार्गले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गर्छ । राजमार्गमा बिहीबार राति १० बजेदेखि गन्तव्यमा जान नपाएका सवारीसाधन सडकमा अलपत्र परेका छन् । प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउने तयारी थालेको जनाएको छ ।
ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले केही समयमा पहिरो पन्छाउन सुरु हुने जानकारी दिए । राजमार्गमा भएर पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, स्याङजा, बेनी, मुस्ताङ, पोखरा लगायतका स्थानमा सवारी साधन चल्छ भने त्यस क्षेत्रबाट बुटवल, सुनौली जाने सवारी साधन चल्ने गर्छन् ।


































