काठमाडौँ — अमेरिका र बेलायतको दाँजोमा भारतमा मुटु र फोक्सो प्रत्यारोपण १० गुणा कम खर्चमा हुने विज्ञले बताएका छन् । खर्च कम हुने भएकाले खाडी राष्ट्रसँगै पश्चिमी मुलुकका बिरामीसमेत भारत आउने गरेको उनीहरूको भनाइ छ ।
नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी काठमाडौंमा शुक्रबार गरेको अन्तरक्रियाका विज्ञहरूले फोक्सो प्रत्यारोपण गराउनेको दाँजोमा मुटु प्रत्यारोपण गराएकाहरू बढी बाँच्ने गरेको बताए । पछिल्लो समय फोक्सो प्रत्यारोपण गराएकाहरू औसत ७.४ वर्ष र मुटु प्रत्यारोपण गराउनेहरू १३.३ वर्ष बाँच्ने गरेका छन् । फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर राम्रो देखिएको छ । अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण विशेषज्ञ डा. मुकेश गोयलका अनुसार मुटु वातावरणको सम्पर्कमा नआए पनि फोक्सो भने निरन्तर श्वासप्रश्वासको माध्यमले वातावरण, प्रदूषण, जीवाणु आदिको सम्पर्कमा आउने भएकाले यो अंगको प्रत्यारोपणमा सफलताको दर कम देखिएको हो ।
अन्तिम अवस्थामा पुगेका फोक्सो र मुटुका रोगीमा अंग प्रत्यारोपण नगरिए ६ महिनादेखि १ वर्षसम्ममा मृत्यु हुन सक्ने डा. गोयलको भनाइ छ । ६०–६५ वर्षभन्दा कम उमेरमा मुटु प्रत्यारोपण र ६५–७० भन्दा कम उमेरमा फोक्सो प्रत्यारोपण उपयुक्त देखिने विज्ञको भनाइ छ । मुटुको कार्यक्षमता ६० प्रतिशतभन्दा कम हुँदै गएमा यो फेल हुँदै गएको बुझ्नुपर्छ । ‘फेल भएका बिरामीमा मुटुले ३५ प्रतिशतभन्दा कम काम गर्छ,’ इलेक्ट्रोफिजियोलजिस्ट र इन्टरभेन्सनल कार्डियोलजिस्ट डा. बनिता अरोराले भनिन्, ‘यस्ता बिरामीलाई विभिन्न परीक्षण गरेर पेसमेकरजस्ता यन्त्र छातीमा प्रत्यारोपण गर्न सकिन्छ ।’ ३०–३५ प्रतिशत मुटुको कार्यक्षमता भएका बिरामी ब्रस गर्न जाँदा, ओछ्यानबाट उठेर हिँड्दासमेत स्वाँस्वाँ गरिरहेका हुन्छन् । यस्ता बिरामीलाई तीनवटा तार भएको पेसमेकर लगाइने उनले बताइन् । ‘६ महिनादेखि वर्ष दिनसम्म मुटुको कार्यक्षमता राम्रो भइहाल्छ । ४५ प्रतिशत वा योभन्दा बढी पुग्न सक्छ,’ उनले भनिन् ।
कतिपय बिरामीमा सामान्य मुटुको क्षमता फिर्ता आउँदैन । यस्ता बिरामीमा ‘सडन कार्डियाक एरेस्ट’ अर्थात् एक्कासि मुटु बन्द हुने समस्या देखिन सक्ने डा. अरोरा बताउँछिन् । ‘हालै भारतीय गायक केकेले गीत गाउँदा–गाउँदै र केही वर्षअघि पूर्वराष्ट्रपति अब्दुल कलामले भाषण दिँदादिँदै सडन कार्डियाक एरेस्ट भएको थियो,’ उनले भनिन्, ‘यस्ता समस्या भएकालाई एउटा तार भएको आईसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर) प्रत्यारोपण गरिन्छ । जसले मुटुको हरेक चाल अनुगमन गर्छ, असामान्य चाल हुँदा बिजुलीको झड्का दिएर सामान्य चाल बनाउँछ ।’ एक्कासि मुटु बन्द भएमा छातीमा सामान्य आईसीडी राखेर ज्यान जोगाउन सकिने उनले बताइन् ।











































