सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन् । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा मन्त्री लम्सालले पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताए ।

मन्त्री लम्सालले कालोपत्र गर्न बाँकी रहेका सडकखण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडकखण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिए ।

लामो समयदेखि निर्माणको प्रक्रियामा रहेको सडक आयोजना पश्चिम नेपालका विभिन्न जिल्लालाई जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको मन्त्री लम्सालको भनाइ छ । सडक निर्माण सम्पन्न भएपछि अर्घाखाँचीसहित गुल्मी, पाल्पा, बागलुङलगायत जिल्लाका नागरिकलाई आवागमनमा सहजता पुग्ने तथा ढोरपाटनसम्मको पहुँच थप सहज बन्ने अपेक्षा गरिएको छ ।

उनले ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनीसमेत दिए । सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने यो सडकलाई रणनीतिक महत्त्वको सडकका रूपमा हेरिएको छ । १९७ किलोमिटर लामो यस मार्गले हिमाल र तराईलाई जोड्ने छोटो दूरीको विकल्प उपलब्ध गराउने भएकाले पर्यटन, व्यापार, कृषि, सेवा र रोजगारीका दृष्टिले यसको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना आर्थिक वर्ष २०६६/६७ मा स्थापना भएको हो । आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा १८ किलोमिटर मात्रै कालोपत्र सम्पन्न भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा थप ४।५ किलोमिटर र आर्थिक वर्ष २०८२/८३ मा थप २४ किलोमिटर सडक कालोपत्र गरिएको छ । यससँगै हालसम्म ४६.५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न आग्रह

अर्घाखाँचीको समग्र विकास र नागरिकलाई सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पूर्वाधार विकासमन्त्री लम्सालसमक्ष विभिन्न माग प्रस्तुत गरे ।

जिल्लामा निर्माणाधीन तथा योजनाका रूपमा रहेका सडक, बजार व्यवस्थापन र विमानस्थल निर्माणलाई गति दिन आवश्यक बजेट तथा व्यवस्थापन गर्न माग गर्दै नगरप्रमुख श्रेष्ठले भौतिक पूर्वाधार विकासमन्त्री लम्साललाई लिखित आग्रह गरे ।

जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएका आयोजनाहरू लामो समयदेखि विभिन्न कारणले प्रभावित भइरहेका बेला नगरप्रमुख श्रेष्ठले ती आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री लम्साल र पूर्वाधार विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देलको ध्यानाकर्षण गराए । उनले सन्धिखर्क बजार क्षेत्रको व्यवस्थापनदेखि रणनीतिक सडक आयोजना र अर्घा भगवती विमानस्थल निर्माणसम्मका विषयलाई समेटेर आवश्यक बजेट विनियोजन तथा व्यवस्थापन गर्न आग्रह गरे ।

बजार क्षेत्रमा व्यवस्थित पार्किङको व्यवस्था नहुँदा सवारी आवागमनमा समस्या हुने तथा पैदलयात्रुलाई समेत कठिनाइ हुने गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको उनको भनाइ छ । अर्घाखाँचीलाई तराई तथा महेन्द्र राजमार्गसँग जोड्ने महत्तवपूर्ण सडकका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क सडक आयोजनाका लागि विनियोजित बजेट पर्याप्त नभएको नगरप्रमुख श्रेष्ठले राखेको मागमा उल्लेख छ ।

जिल्लाको महत्त्वपूर्ण आयोजना सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा पर्याप्त बजेट नहुँदा द्रुत गतिका साथ काम अगाडि बढ्न नसकेकाले पर्याप्त बजेटको माग छ । सडक निर्माणका क्रममा पर्ने घर तथा भवन हटाउनुपर्ने अवस्था रहेको भन्दै प्रभावित नागरिकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग छ । मुआब्जा तथा क्षतिपूर्तिको उचित व्यवस्था गरेर मात्रै सडक निर्माणलाई तीव्रता दिन सकिने भएकाले सरकारले आवश्यक रकमको व्यवस्था गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत ढुङ्ग्रेखोला–सालझण्डी सडकखण्डको समेत नयाँ ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । अर्घाखाँची जिल्लाको सिमानाअन्तर्गत सालझण्डीतर्फको ठेक्का रद्द भइसकेकाले सो क्षेत्रमा नयाँ ‘टेन्डर’ प्रक्रिया सुरु गरी निर्माणलाई निरन्तरता दिनुपर्ने मागमा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित