काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहविरुद्ध कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो।
कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)माथि भएको सामूहिक आक्रमणमा उनी जोडिए पनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेका बेला कपिलवस्तु प्रहरीले जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले शाहविरूद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको बताए। उनले कुटपिटको घटनामा शाहविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको र फरार मानेर खोजी कार्य जारी राखेको बताए।
पीडित अध्यक्ष शर्माका अनुसार घटनापछि प्रहरीले अनुसन्धानमा सक्रियता देखाउनुको साटो जाहेरी दर्ता गर्न आलटाल गरेको बताएका थिए। उनले दुई दिनअघि मुद्दा शाखामा जाहेरी पत्र बुझाए पनि ढिलाइ भएको गुनासो पत्रकारसमक्ष गुनासो गरेका थिए।
आक्रमणमा संघीय सांसद शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहसहित १५/२० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर कुटपिट गरेको पीडित शर्माको उजुरीमा उल्लेख छ।



































