काठमाडौं । बेपत्ता भएको ११ दिनपछि मृत फेला परेकी तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी परपुरुष सँगको सम्बन्धका कारण मारिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
उनको हत्यामा संलग्न टोखा नगरपालिका–२ का अनिल डङ्गोलसँग मृतक तिवारीको एक वर्षदेखि सघन सम्बन्ध देखिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । डङ्गोलले उनीसँगको सम्बन्ध स्वीकार गरेका छन् ।
सरिता वैशाख १२ गतेदेखि तारकेश्वर–३, तीनपिप्लेबाट हराएकी थिइन् । बजार जान्छु भनी गाडी चढेर ११ गते दिउँसोदेखि हराएकी सरिताको खोजीका लागि पतिसहित परिवारका सदस्यले १२ गते खोजतलासका लागि जाहेरी दिएका थिए । खोजीका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडेको ठाउँबाट उनको शव उत्खनन गरिएको थियो । उनीहरू जितपुर फेदीका स्थायी बासिन्दा हुन् ।
पारिवारिकस्रोतका अनुसार मृतक तिवारीका पति शंकर तिवारी र डङ्गोल मिलनसार साथी हुन् । साथीका रुपमा शंकरसँग आवतजावत हुने क्रममा पत्नी सरितासित भेट भएको हो । शंकर विभिन्न टेलीसिरियलमा काम गर्छन् । त्यसबाहेकको समयमा कृषिकार्यमा व्यस्त हुन्थे । त्यही व्यस्तताका समयमा सरिता प्रायः डङ्गोलको साथमा हुने गरेकी थिइन् ।
एक वर्षदेखिको यस्तो सम्बन्धबारे शंकरले गत माघ–फागुन महिनातिर मात्रै जानकारी पाएको परिवारका एक सदस्यले बताए । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सरिता निर्वाचन प्रहरीमा भर्ना भएकी थिइन् । त्यसक्रममा कैयौँ दिन घर नजाने र खोजी गर्दा डङ्गोलको साथमा भेटिएपछि शंका भएको हो ।
सरिताले डङ्गोलसँगको सम्बन्धबारे परिवार र समाजमा हल्ला चलेका कारण आफू अप्ठ्यारोमा परेको भन्दै डङ्गोललाई आफ्नो जिम्मा लिन दबाब दिएकी थिइन् । प्रहरीस्रोतका अनुसार डङ्गोल बसोबास गर्ने टोखा नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले प्रहरीलाई दिएको सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । उनीहरू घटना हुनुअघि पनि शिवपुरी जंगल भेट्ने गर्थे ।




































