काठमाडौं । काठमाडौंको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सिरोहियाले दिएको जाहेरी र प्रहरी प्रतिवेदन अनुसार लुटपाट र आगजनीबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उक्त लुटपाटमा पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँका ३५ वर्षीय सुजन डंगोल, ३५ वर्षीय विवेक थापा, धादिङका ३३ वर्षिय गोपाल थापा, गोरखाका २५ वर्षिय रोजिस घिमिरे र धनकुटाको महालक्ष्मी नगरपालिका ३ का ३० वर्षीय प्रज्ज्वल रोगु विरुद्ध अपराधिक उपद्रव तथा चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
दिउँसो करिब १ बजेदेखि राति १० बजेसम्मको समयमा आन्दोलनकारीको एक समूहले काठमाडौं ४ मण्डिखाटारस्थित सम्भव सिरोहियाको निवासलाई निशाना बनाएका थिए ।
भिडले घरको कम्पाउण्डभित्र प्रवेश गरी त्यहाँ पार्क गरिएका विलासी सवारी साधनहरूमा आगो लगायो । आगजनीबाट बाप्र०१ ०३० च ०५१४ नम्बरको डिपल, बा १७ च ५६७८ नम्बरको ज्यागुअर, प्र ३ ०१ ०२३ च २२३ नम्बरको ह्युन्डाई र बाप्र०३ ००१ च ०४४४ नम्बरको ल्याण्ड रोभर डिस्कभरी कार पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
अभियोगपत्र अनुसार सिरोहियाको घरबाट ३५ तोला सुन, २० थान चाँदीका गहना, र ३१ केजी चाँदीका सिक्काहरू लुटिएका थिए । त्यस्तै घरायसी सामानमा ८ थान सोफा सेट, डाइनिङ टेबल, ल्यापटप, क्यामरा र बहुमूल्य फर्निचरहरू लुटपाट भएको थियो ।



































