काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ५ विकेटले हराउँदै तेस्रो जित दर्ता गरेको हो । यसअघि पाँच खेल खेलेको लुम्बिनीले ३ खेलमा हार भोगेको थियो । विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४४ रन बनायो । विराटनगरले दुवै अनुभवी ओपनरलाई सस्तैमा गुमाएको थियो । ओपनर जर्ज मुन्सी पहिलो ओभरको दोस्रो बलमै खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।
अर्का ओपनर फाफ डु प्लेसिस पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले नौ बलमा दुई चौका हिर्काए । एनपीएलमा यो उनको पहिलो खेल हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका लोकेश बलले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ३५ रन बनाए । उनले पेभेलियन फर्किनुअघि ४२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काए ।
लोकेशले चौथो नम्बरका ब्याट्सम्यान साम हेजलेटसँग ५५ रनको साझेदारी गरे । हेजलेटले टोलीका लागि २७ रनको योगदान गरे ।
हेजलेटले २० बलको सामना गरी दुई छक्का र एक चौका हिर्काए । नारायण जोशी भने सात बलमा केवल पाँच रन बनाउँदै पेभेलियन फर्किए ।
बसिर अहमदले टोलीको खातामा महत्त्वपूर्ण २८ रन थपे । उनले केवल १९ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए ।
प्रतिश जीसी ११ रन बनाउँदै आउट भए । मर्चेन्ट डे लाङ्गेले अविजित १० रन बटुले । साहिल पटेल तीन रन बनाउँदै आउट भए । सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।
विराटनगरका ब्याट्सम्यानका लागि लुम्बिनीका बलर शेर मल्ल घातक सिद्ध भए । उनी एक्लैले तीन विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चिए ।
अभिषेक गौतम, जोहानेश स्मित र रुवेन ट्रम्पलम्यानले पनि एक/एक विकेट हात पारे । विराटनगरले अतिरिक्त रूपमा सात रन पायो ।




































