प्रशासनिक खर्चमा ९ करोड २७ लाख बजेट राखेपछि वडाध्यक्षहरू असन्तुष्ट
काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकाले ७१ करोड ९५ लाखको बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका उपाध्यक्ष भीमसेन वनद्वारा प्रस्तुत बजेटमा १ करोड १९ लाख ५० हजार पालिका अध्यक्ष र उपाध्यक्षले बाड्न पाउने गरी बजेट सार्वजनिक भएको हो । सुत्रअनुसार १० वटा वडाहरूलाई ४ करोड बजेट विनियोजन गरिएको छ । जसमा ३६ लाखदेखि ४४ लाखसम्म एक वडालाई बजेट विनियोजन गरिएको पालिका उपाध्यक्ष वनले जानकारी दिए ।
एक वडाध्यक्षका अनुसार बुधबारसम्म बजेटका विषयमा विवाद हुँदा बजेटको पूर्णपाठ भने आउन सकेको छैन । ‘आज हामीले बजेटको सिलिङ अनुसार योजनाको लिष्ट बुझाएका छौं,’ उनले भने, ‘अरु अध्यक्ष र उपाध्यक्षले बजेट बाँड्न पाउने गरी सहमति भएको छ ।’
गाउँपालिकाको १७ औं गाउँसभाले भौतिक पूर्वाधार तर्फ १५ करोड २५ लाख ५० हजार छुट्याएको छ । यस्तै, बन वातावरण व्यवस्थापन तथा विपद एवम् उद्धारका लागि ५४ लाख रुपैयाँ बिनियोजन गरेको छ । नागरिकलाई सहज सेवा प्रवाहका लागि १ करोड ३१ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रशासनिक खर्च भनेर ९ करोड २७ लाख विनियोजन गरिएको छ । सामाजिक विकासको क्षेत्रमा ४३ करोड ४७ लाख विनियोजन गरिएको छ । कृषिमा २ करोड ४ लाख २० हजार विनियोजन गरिएको छ । प्रशासनिक खर्चमा ९ करोड २७ लाख बजेट राखेपछि वडाध्यक्षहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।

































