काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले १ सय ७५ रनको विजयी लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पूरा २० ओभर खेल्दै सात विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार पारेको हो ।
नेदरल्यान्ड्सका माइकल लेभिटले आक्रामक ब्याटिङ गरे । उनले सर्वाधिक ८६ रन बनाए । ५३ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । सकिब जुल्फिकरले १४, रोएलफ भ्यान डेरले ३६ र आर्यन दत्तले १७ रन बनाए ।
नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र रुपेश सिंहले एकरएक विकेट लिए । केहीबेरमा नेपालले जवाफी ब्याटिङ थाल्नेछ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्यान्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ ।
आइतबार घरेलु टोली स्कटल्यान्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो । त्यसपछि नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्यान्डलाई १७ रनले हराएको थियो ।


































