काठमाडौं । अमेरिकाबाट आइतबार डिपोर्ट भएकाहरूमध्ये बढी रुकुमका युवाहरू छन् । प्रहरी सोधपुछका क्रममा ३७ जनामध्ये नौ जना पश्चिम रुकुम र पाँचजना पूर्वी रुकुमका छन् । १९ वर्षीय युवादेखि ४३ वर्षसम्मका छन् । अमेरिकाले उनीहरूलाई विनाकागजात नेपाल फर्काएको थियो ।
रुकुमपछि दोस्रोमा दाङ तुलसीपुरका छन् । तुलसीपुरका आठजनामध्ये चारजना महिला छन् । यसरी नै चारजना म्याग्दी, दुईजना बागलुङका छन् । त्यसरी नै सल्यान, जाजरकोट, सिन्धुपाल्चोक, काठमाडौं, सिन्धुली, धनकुटा, दोलखाका एक–एक जना छन् ।
उनीहरू फरक–फरक मितिमा अमेरिका पुगेको देखिन्छ । दाङका चारजना महिला २०८० भदौ १९ मा नेपालबाट अमेरिकाका लागि जापान उडेका थिए ।
उनीहरू गत माघ १३ गते अमेरिका पुगेका थिए । त्यसयता उनीहरू चार महिना अमेरिकामै थुनामा परे । यसरी डिपोर्ट भएकाहरू अन्य व्यक्तिसमेत तीन महिनादेखि १८ महिनासम्म अमेरिकाको अध्यागमनकै थुनामा परेका थिए । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ ।


































