दिनेश शर्मा, बडिगाड । संघीय निजामति सेवा ऐन जारी गर्न माग गर्दै बडिगाड गाउँपालिकाका कर्मचारीले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले ७५३ स्थानीय तहबाट गरेको दबाबमुलक कार्यक्रम अन्तर्गत सोमबार बडिगाड गाउँपालिकाका कर्मचारीले हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् ।
केन्द्रको सकुर्लर अनुसार (आज) सोमबार स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यहरु र बागमती प्रदेशका सम्पूर्ण कर्मचारीहरु र उपलब्ध अन्य प्रदेशका स्थानीय तहका कर्मचारीहरु काठमाडौंमा भेला भई दबाबमुलक कार्यक्रम गर्ने र ७५३ स्थानीय तहमा कालोपट्टी बाँधेर विरोध गर्ने कार्यक्रम रहेको थियो ।
सञ्जालका संयोजक दिपक गौतमका अनुसार आइतबार ७५३ वटै पालिकाका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई ध्यानाकर्षण गराइएको थियो ।
सञ्जालले स्थानीय तह कर्मचारी संघर्ष समितिसँग सरकारले गरेका सम्झौतालाई लत्याउँदै संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाएकोमा आपत्ति जनाएको छ।


































