काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ । बागमती नदीको बहाव बढेर राति नै सेन्टरभित्र बाढी पसेको हो । बागमती किनारबाट हटाएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू फेरि डुबानमा परेका हुन् । बागमती निकारमा बसोबास गर्दा पनि उनीहरू डुबानमा पर्ने गरेका थिए ।
होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका बन्दोबस्तीका सामान, खाद्यान्न र लत्ताकपडा डुबेका छन् । राति पसेको बाढीका कारण अधिकांशले ओढ्ने–ओछ्याउने त परको कुरा, आफूले खाइरहेको आकस्मिक औषधिसमेत निकाल्न नपाएको गुनासो पोखेका छन् । ढिलोगरी मात्र उद्धार टोली आइपुगेको भन्दै शुरूमा पीडितहरूले तत्काल सहयोगका लागि आग्रह गरेका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र डुबानको खबर पाउनासाथ राति १ः३८ बजे नै सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) को कमाण्डमा विपद् व्यवस्थापन सामग्रीसहित ३० जना र नेपाल प्रहरीको ३० जना गरी कुल ६० जनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो।
सुरक्षाकर्मीहरू रातको २ बजेपछि मात्र घटनास्थलमा पुग्न सकेका थिए । बाढीको प्रकृतिका कारण टोलीले बोटको प्रयोग गरेर उद्धार कार्य अघि बढाएको थियो । सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा पुर्याइएको प्राधिकरणले जनाएको छ । अन्य ६ जना होस्टलमा बसेका छन् भने बाँकी ९४ जना भने आफ्नो सामान छाडेर जान नसक्ने भन्दै सेन्टरकै पानी नजमेको सुरक्षित उचाइको स्थानमा बसेका छन् ।
अहिले सुरक्षाकर्मीहरूले बोटकै प्रयोग गरेर डुबानमा परेका कोठाहरूबाट सुकुम्बासीहरूका बाँकी सामान र लत्ताकपडाहरू बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।
प्राधिकरणका अनुसार हाल प्रभावित क्षेत्र र आश्रयस्थलमा विषयगत क्षेत्रहरू सक्रिय भइसकेका छन्। टियुको स्मृति भवनमा सारिएका र सेन्टरमै रहेका नागरिकहरूका लागि तत्काल आवश्यक पर्ने तयारी खाना, खानेपानी तथा अन्य खाद्यान्न र स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।


































