काठमाडौं । क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा डेल्टा एयरको विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् ।
टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा अन्य १२ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन् ।
विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए । सबैलाई विमानबाट निकालेर सुरक्षित स्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विमान मिनियापोलिसबाट स्थानीय समय अनुसार सोमबार बिहान ११स्३४ बजे उडेको थियो ।
प्रहरीले दुर्घटनाको वरपरको अवस्थाबारे केही बताएको छैन। विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन्। क्यानडाकी यातायातमन्त्री अनिता आनन्दले घटनालाई गम्भीररूपमा लिएको प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ। क्यानडाको यातायात सुरक्षा बोर्डले अनुसन्धानकर्ताको टोली खटाउने बताएको छ।



































