काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । जन्म मिति विवादमा छानविन सुरु भएपछि उनले कात्तिक २३ गते राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट सैनिक मुख्यालयले रक्षा मन्त्रालयमा पठाएको थियो ।
रक्षा मन्त्रालयले बिहीबार मन्त्रिपरिषद् बैठकमा पेश गरेसँगै उनको राजीनामा स्वीकृत गर्ने निर्णय भएको हो।
पाण्डेलाई रथीमा बढुवाका लागि प्रस्ताव गरिएको थियो। बढुवा समितिले उनलाई रथीमा बढुवा गर्न प्रस्ताव गर्दै सात दिने सूचना जारी गरेको थियो। तर उनको उमेर दुइृ थरी रहेको भन्दै उजुरी परेपछि छानविन सुरु भएको थियो। छानविन सुरु भएसँगै उनले राजीनामा दिएका थिए।
पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो।
पाण्डेको राजीनामा स्वीकृत भएसँग अब अर्को उपरथीलाई रथीमा बढुवा गर्ने बाटो खुला भएको छ। उपरथी अशोक सिंग्देल बढुवा हुने सम्भावना छ।