काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि शंकास्पद गाडी पार्किङ गरेर राखिएको अवस्थामा भेटिएको छ । सोमबार बिहान करिब ७ बजे काठमाडौंको रातोपुलस्थित थापाको निवासको गेटमा बी एसी ९५७५ नम्बरको गाडी राखिएको पाइएको हो ।
थापाको निवासबाहिर करिब १० फिटको सडक छ । उक्त सडकमा गाडी पार्क गरिएपछि स्थानीयको सवारीसाधनलाई समेत आवतजावत गर्न अवरोध पुगेको छ । सोही कारण स्थानीय आक्रोशित भएपछि थापा समेत रातोपुल पुगेका थिए । उनले एक दिनको असुविधाका निम्ति क्षमा दिन भन्दै गाडीमा कुनै क्षति नपुर्याउन स्थानीयलाई आग्रह गरे ।
सभापति थापा ०८२ भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनपश्चात् उक्त निवासमा बस्दैनन् । गाडी रोकिएको सूचनापछि दुईपटकसम्म प्रहरी त्यहाँ उपस्थित भएको थियो । तर, गाडी हटाउने वा धनी खोजेर जिम्मा लगाउने पहल नगरेको थापाको सचिवालयले जनाएको छ । थापाको सचिवालयले यातायात व्यवस्था विभागमार्फत गाडीधनी पत्ता लगाउन प्रयास गरेको थियो । तर, विभागले सहयोग नगरेको सचिवालयले जनाएको छ ।



































