काठमाडौं । सचिव कृष्णहरि पुष्करलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेर छाडिएको छ । त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो । बिहीबार साँझ ९ बजेतिर उनलाई स्वास्थ्य परीक्षण गराउन भनेर गाडीमा राखेर अनुसन्धान कार्यालयको बाहिर लगिँदै थियो । अनुसन्धान कार्यालयमा कार्यरत एक जना अधिकृत भन्छन्, ‘उहाँलाई जरुरी पक्राउ पुर्जी पनि दिइएको थियो ।’
जरुरी पक्राउ पुर्जी दिएर जिल्ला प्रहरी परिसरमा पठाउन खोजिएपछि परिस्थिति पुनः परिवर्तन भयो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट मुद्दा नचल्ने हुनाले सो कार्यालयले पक्राउ गरेका आरोपीहरूलाई भद्रकाली पठाउने गरिन्छ ।
‘माथिको आदेश’ भन्दै उनलाई फेरी अनुसन्धान कार्यालय स्थित एसपी शरद थापाको कार्यकक्षमा लगेर जिम्मा जमानीको कागज गराइएको थियो । पुष्करलाई पत्नी आभा श्रेष्ठको जिम्मा लगाएर करिब १० बजे रिहा गरिएको अधिकृतहरू बताउँछन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ‘उहाँलाई करिब ३ बजेतिर कार्यालयमा ल्याइएको थियो’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृत भन्छन्, ‘राति १० बजेतिर श्रीमतीको जिम्मा लगाएर छाडिएको छ ।’
उपराष्ट्रपतिको कार्यालयमा कार्यरत पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा सोधपुछको लागि नियन्त्रणमा लिइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ । पुष्कर मुख्यसचिव बन्ने प्रतिस्पर्धामा थिए । सरकारले २०८२ मंसिर ९ मा सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।






























