काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङको ‘ग्रेट हल अफ द पिपल’मा बिहीबार बिहान उनीहरूबीच उच्चस्तरीय शिखर वार्ता शुरू भएको हो ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरूले एकअर्कालाई मित्र र महान् नेता सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय शुरू गर्ने संकेत दिएको सीएनएनले जनाएको छ । यसअघि राष्ट्रपति ट्रम्पलाई बेइजिङमा रातो कार्पेट, तोपको सलामी र झण्डा हल्लाउँदै गरेका बालबालिकाहरूको समूहले भव्य स्वागत गरेका थिए । चीनले ट्रम्पको रुची र ‘पेजेन्ट्री’प्रतिको लगावलाई ध्यानमा राख्दै हरेक दृश्यलाई सावधानीपूर्वक कोरियोग्राफी गरेको थियो । तियानमेन स्क्वायरमा गुन्जिएको तोपको आवाज र सैन्य ब्यान्डको धुनबीच दुवै नेताहरूले सैनिक टोलीको निरीक्षण गरे।
यसलाई देखेर प्रसन्न भएका ट्रम्पले टिप्पणी गरे, अद्भूत ! उनले अगाडि थपे, ‘म ती बालबालिकाहरूबाट विशेष प्रभावित भएँ। तिनीहरू खुसी र सुन्दर थिए। ती बालबालिकाहरूले धेरै कुराको प्रतिनिधित्व गर्छन्।’
बैठकको शुरूमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वव्यापी अनिश्चितता र ऐतिहासिक मोडको चर्चा गरे। उनले ‘थुसिडाइड्स ट्र्यापु (उदीयमान शक्तिले स्थापित शक्तिलाई चुनौती दिँदा हुने द्वन्द्वको जोखिम) को सन्दर्भ निकाल्दै सहकार्यमा जोड दिँदै सीले भने, ‘के चीन र अमेरिका’ थुसिडाइड्स ट्र्यापुलाई पार गरेर प्रमुख राष्ट्रहरूबीचको सम्बन्धको नयाँ नमुना स्थापना गर्न सक्छन् ? के हामी विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्वमा थप स्थिरता ल्याउन हात मिलाउन सक्छौं ? यी इतिहास र विश्वले सोधेका प्रश्नहरू हुन्, जसको जवाफ हामी दुई नेताले मिलेर लेख्नुपर्नेछ।’
सीएनएनका अनुसार उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा बधाई दिँदै थपे, ‘मैले सधैं विश्वास गरेको छु कि चीन र अमेरिबीचको साझा हित हाम्रा मतभेदहरूभन्दा ठूला छन्। जब दुई पक्षले सहकार्य गर्छन्, दुवैलाई फाइदा हुन्छस जब लड्छन्, दुवैले दुःख पाउँछन्। हामीले प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।’



































