काठमाडौं । सर्लाहीमा पायल्सको उपचार गर्ने क्रममा एक किशोरीको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको मोहन आयुर्वेदिक औषधालयमा पायल्सको उपचार गर्ने क्रममा आइतबार साँझ स्थानीय एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृत्यु हुनेमा लालबन्दी नगरपालिका–२, पुनर्वास घर भएका बिपिन पासवानकी छोरी अन्दाजी १८ वर्षीया हंशु पासवान छिन्।
किशोरीको मृत्यु भएपछि प्रहरीले औषधालयका चिकित्सक रामविनय साहलाई पक्राउ गरेको छ। पायल्सको शल्यक्रिया गर्ने क्रममा किशोरीको अवस्था गम्भीर बनेपछि हतारहतार उनलाई सर्लाहीकै हरिवनमा रहेको नमूना अस्पताल लगिएको थियो।
नमूना अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शल्यक्रिया गर्ने क्रममा लापरबाही हुँदा किशोरीको मृत्यु भएको आरोप आफन्तले लगाएका छन्।
किशोरीको मृत्यु भएपछि पीडित परिवार र स्थानीयले नवलपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। टायर बालेर पूर्वपश्चिम राजमार्गमा प्रदर्शन हुँदा आइतबार साँझ केहीबेर सवारी साधन बन्द भएका थिए।
घटनाको निष्पक्ष छानविन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि उनीहरुले प्रदर्शन रोकेका थिए। किशोरीको उपचारमा संलग्न चिकित्सक रामविनय साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




































