काठमाडौं । बंगलादेशकी पूर्व तथा पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा आज (मंगलबार) निधन भएको छ।
उनी बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० की प्रमुख पनि थिइन्। धेरै वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पीडित उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन्।
उपचारका क्रममा स्थानीय समयअनुसार आज बिहा ६ बजे खालिदाको मृत्यु भएको उनको परिवारका सदस्य तथा पार्टीका नेताहरूले बताएका छन्।
खालिदा १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुईपटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन्। उनी बंगलादेशकी पहिलो प्रधानमन्त्री पनि थिइन्। उनी पूर्वराष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन्।
सन् २००८ देखि लन्डनमा बसेका उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान यही डिसेम्बर २५ मा बंगलादेश फर्किएका छन्। अर्थात् उनी १७ वर्षपछि स्वदेश फर्किएका थिए। खालिदाका कान्छा छोरा अराफत रहमानको भने हृदयघातका कारण सन् २०१५ मै मृत्यु भइसकेको छ।
खालिदा जियाले सोमबारमात्र चुनावका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन्। स्वास्थ्य अत्यन्तै नाजुक हुँदाहुँदै पनि बीएनपीले चुनाव लड्ने निर्णय गरेकी थिइन्।
उनी बोगुरा ७ बाट चुनाव लड्दै थिइन्। यो क्षेत्र पार्टीका संस्थापक तथा खालिदा जियाका पति जियाउर रहमानको घर भएको ठाउँ हो। खालिदाले यस सिटबाट १९९१, १९९६ र २००१ मा तीनपटक चुनाव जितेकी थिइन्।
बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना देशै छाडेर भागेपछि मोहम्मद युनुसको अन्तरिम सरकारले आगामी फेब्रुअरी १२ का लागि निर्वाचन घोषणा गरेको छ।
बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले आफ्ना अध्यक्ष खालिदा जियाको निधनमा सात दिनको शोक घोषणा गरेको छ। पार्टीका वरिष्ठ सहमहासचिव रुहुल कबिर रिजवीले मंगलबार ढाकाको एभरकेयर अस्पतालमा यो घोषणा गरेका हुन्।



































