बागलुङ । ‘पौदीवासीहरूको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान’ नारासहित बागलुङ र गुल्मी जिल्लाको सीमास्थित बडिगाड खोलाको तिरमा अहिले पौदी न्वागी मेला चलिरहेको छ। तर, संस्कृति संरक्षणको आवरणमा यो ऐतिहासिक मेला अवैध जुवातासको ‘इपिसेन्टर’ मा परिणत भएको छ।
मंसिर १ गतेदेखि सुरु भएको यो मेलामा आयोजक समिति, स्थानीय युवा समूह र सुरक्षा निकायको मिलेमतोमा लाखौँको जुवा खुलमखुला सञ्चालन भइरहेको खुलासा भएको छ।
अध्यक्षकै प्रस्तावमा आयोजकले लियो चार लाख
मेलामा जुवा खेलाउनका लागि आयोजक र एक युवा समूहबीच ४ लाख रुपैयाँको लेनदेन भएको पाइएको छ। मेला आयोजक समितिका एक सदस्यका अनुसार, समितिका अध्यक्ष कृष्ण घिमिरेले नै बैठकमा जुवा खुलाउने प्रस्ताव राखेका थिए।
ती सदस्यले अध्यक्ष घिमिरेको भनाइ उद्धृत गर्दै भने, ‘हामीले लिखित सम्झौता त गर्दैनौं, तर एउटा युवा समूहले हामीलाई ४ लाख रुपैयाँ दिने भनेको छ। त्योभन्दा बढी रकम दिने कोही छन् भने ल्याउनुस्, नत्र यिनैलाई खेलाउन दिउँ।’
यसअघि पनि अध्यक्ष घिमिरेले युवाहरूले आर्थिक सहयोग गरेकै कारण उनीहरूलाई जुवा खेल्न छुट दिएको स्वीकार गरिसकेका छन्। कला–संस्कृतिको जगेर्ना गर्ने बहानामा अवैध धन्दालाई प्रश्रय दिएको भन्दै अहिले मेला आयोजकको चौतर्फी आलोचना भइरहेको छ।
जुवाडेको दाबी : ‘९ लाख खर्च भइसक्यो, पत्रकारलाई पनि मिलाउँछौँ’ मेलामा भइरहेको अवैध धन्दाबारे न्यूज खरीले समाचार प्रकाशन गरेपछि जुवा सञ्चालकहरू अत्तालिएका छन्। समाचार रोक्न भन्दै केही युवाहरूले फोन गरेर प्रलोभन देखाउने प्रयास समेत गरेका छन्।
‘हामीले अहिलेसम्म ९ लाख रुपैयाँ खर्च गरिसकेका छौँ,’ फोनमा एक युवाले दाबी गरे, ’आयोजकलाई ४ लाख बुझायौँ, बाँकी रकम प्रहरी र प्रशासन मिलाउन खर्च भएको छ। अहिले खेलाउन पाएनौँ भने हामी ठूलो घाटामा जान्छौँ। समाचार नलेखिदिनुस्, हामी तपाईंलाई पनि मिलाउँछौँ।’
ती युवाले समाचार बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) र प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट बारम्बार फोन आएको समेत स्वीकार गरेका छन्।
प्रहरीकै संरक्षणमा जुवा, देखावटी धरपकड
नेपालको कानुनले जुवातासलाई पूर्णतः निषेध गरेको छ। तर, कानुन कार्यान्वयन गराउने प्रहरी प्रशासन नै जुवाडेहरूको रक्षक बनेको देखिन्छ।
मेला स्थल प्रहरी चौकी ग्वालीचौरबाट मात्र ५० मिटरको दुरीमा छ। त्यहाँ टेन्ट नै टाँगेर दुई ठाउँमा जुवा चलिरहेको छ र दैनिक २० देखि २५ लाख रुपैयाँको कारोबार भइरहेको बताइन्छ।
जुवा चलिरहँदा पनि प्रहरी बेखबर जस्तै बनेको छ। सुरक्षाका लागि भन्दै असई सम्मरबहादुर लम्तरीसहित दुई जना असईको नेतृत्वमा एक दर्जनभन्दा बढी सुरक्षाकर्मी मेलामा खटिएका छन्।
‘आइतबार साँझ प्रहरीले देखावटी रूपमा १५ मिनेट जति जुवा बन्द गरायो, तर लगत्तै फेरि सुचारु भयो’, समितिका एक सदस्यले बताए। उनका अनुसार दिउँसो र साँझ एकछिन हटाएजस्तो गरेर प्रहरीले नै जुवालाई निरन्तरता दिन सघाउ पुर्याइरहेको छ।
सिभिल ड्रेसका हवल्दारको ‘रजगज्’ र असुली धन्दा
यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय बागलुङका सिभिल हवल्दार (सादा पाेशाक) लिलाबहादुर गुरुङको भूमिका शंकास्पद देखिएको छ। बागलुङ क्षेत्र नम्बर २ मा हुने मेलापर्वमा उनी ‘सिभिल ड्रेस’ मा पुगेर असुली धन्दा चलाउने गरेको आरोप लागेको छ।
स्थानीयका अनुसार, गुरुङले आफूलाई ‘जिल्लाका एसपीको नजिकको मान्छे’ भन्दै जुवाजन्य गतिविधिमा आफ्नो रजगज जमाउने गरेका छन्। मेलामा सहभागीहरूले उनी बारम्बार जुवाखाल आसपास देखिने गरेको र कमिसनका लागि बार्गेनिङ गर्ने गरेको बताएका छन्।
संस्कृतिको नाममा सुरु भएको मेला अवैध धन्दा, प्रहरी–प्रशासनको मिलेमतो र आर्थिक लेनदेनको केन्द्र बन्दा स्थानीयवासी र संस्कृतिप्रेमीहरू चिन्तित बनेका छन्। (यसअघि सिभिल ड्रेसका हवल्दार हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ-सम्पादक)
याे पनि

































