काठमाडौं । इजरायली सेनाले गाजा सहर कब्जा गर्न कारबाही सुरु गरेपछि ठूलो संख्यामा प्यालेस्टिनीहरू बसोबास छाडेर भागिरहेका छन्।
यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामका लागि आफ्नो अपिल दोहोर्याएका छन्। गुटेरेसले भनेका छन्, ‘यो सैन्य कारबाहीले मृत्यु र विनाश निम्त्याउने निश्चित छ र यसलाई रोक्न अति जरुरी छ।’
गाजाका अधिकारीहरूका अनुसार, दस लाखभन्दा बढी मानिस बसोबास गर्ने यो क्षेत्रमा पहिले नै धेरै दिनदेखि भारी बमबारी जारी छ।
बीबीसीका अनुसार इजरायली सेनाले गाजा सहरको बाहिरी भाग नियन्त्रणमा लिएको बताएको छ। एक सैन्य प्रवक्ताका अनुसार सैनिकहरूले पहिले नै जैतुन र जबलिया क्षेत्रमा कारबाही गरिरहेका छन्। विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले गाजा सहर कब्जा गर्ने योजना अघि बढाएको हो।


































