काठमाडौं । अभिषेक गिरीलाई प्रहरीले बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरेको छ । बुद्ध एयरको बिमानमार्फत काठमाडौंबाट साँझ ७ः०५ बजे विराटनगर ओर्लिएलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो । गिरीविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाउन अदालतबाट पूर्वअनुमति (पक्राउ पुर्जी) लिइसकिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिका ८ मधुमाराका ४८ वर्षीय गिरीलाई यसअघि निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई २१ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा गत असार २३ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
सो मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर, उनले सुरुमा धरौटी नबुझाउँदा डिल्लीबजार कारागार चलान भएका थिए । पछि धरौटी बुझाएर कारागारबाट छुटेलगत्तै विराटनगर आउँदा उनलाई विमानस्थलमै प्रहरीले समातेको हो ।
गिरीमाथि मोरङ कारागारका कैदीबन्दीहरूबाट अवैध रकम असुली गरेको आरोपमा आपराधिक लाभको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यसअघि उनी अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय काटेर २०७९ चैतमा छुटेका थिए ।
































