भारतीय विमानस्थल प्रयोग गरेर नेपाली उडाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ को प्रावधान उल्लंघन गरेको ठहर गर्दै विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराउने निर्णय गरेको हो । विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरी विशेष अनुगमन गरेको थियो ।

सञ्चालनमा रहेका कुल १ हजार ११७ इजाजतप्राप्त संस्थाहरूमध्ये ६७८ संस्थाले मात्रै विवरण बुझाएका थिए । बुझाइएको विवरण अध्ययन गर्दा १५९ वटा म्यानपावर कम्पनीले विभागसँग अनुमति नै नलिई भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ ।

यस्तै, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३४ भन्दा बढी म्यानपावर कम्पनीलाई पनि ऐनको दफा ३७ उल्लंघन गरेको आधारमा सचेत गराउँदै पुनः विवरण पेस गर्न निर्देशन दिएको छ ।

विभागले पटक–पटक कानुन र निर्देशन उल्लंघन गर्ने ८ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिबाना समेत गरेको छ ।

जरिबानामा पर्ने कम्पनीहरूमा ग्रान्ड सुइट जब, मास ह्युमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेसनल म्यानपावर र अञ्जली ओभरसिज सर्भिस रहेका छन् ।

तीमध्ये तीन वटा कम्पनीलाई पुनः अनुमतिबिना भारतीय विमानस्थल प्रयोग गरेको र पाँच वटालाई विवरण नबुझाएको कसुरमा जरिबाना गरिएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने र यदि विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था भएमा विभागबाट अनुमति लिनुपर्ने स्पष्ट व्यवस्था छ ।

म्यानपावर कम्पनीहरूले भारतीय विमानस्थल हुँदै श्रमिक पठाउँदा उनीहरूको अभिलेख व्यवस्थापन, सुरक्षा र निगरानी प्रणालीमा समस्या उत्पन्न हुने विभागको ठहर छ ।

विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुनको पूर्ण पालना गर्न सचेत गराउँदै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ । भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाउने गरेको गुनासो बढेपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै विवरण माग गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित