काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ भने अहिले (बुधबार बिहान) पहाडी र हिमाली भेगको आकाशमा आंशिक बादल लागेको र तराईमा मौसम मुख्यतया सफा रहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशका पहाडी र हिमाली भेगलगायत बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल देखिनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपात हुने सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा राति कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा भने पानी पर्ने सम्भावना कम रहेको मौसम महाशाखाले जानकारी दिएको छ। आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुने सम्भावना छ। आंशिक बदली भनेको आकाशमा बादल लाग्ने तर घाम पनि देखिने अवस्था हो।


























