काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना नयाँ अनुहार आएका छन् । जसमा नयाँ र अनुभवी तथा युवा अनुहार समेत छन् ।
आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ ।
आइतबारको निर्वाचनबाट विजयी भएका राष्ट्रिय सभा सदस्यहरूमा यसअघि नै प्रतिनिधिसभामा काम गरिसकेका व्यक्तिहरू समेत छन् । विल्कुल नयाँ अनुहार पनि चुनिएर आएका छन् ।


































