काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई गैरकानुनी रूपमा जुवा खेलाएको आरोपमा ५ जना पक्राउ परेका छन्।
क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई रकम जम्मा गराएर जुवा खेल्न प्रयोग हुने चिप्स उपलब्ध गराई ठूलो रकमको हार–जित हुने गरी जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ का ६५ वर्षीय पशुपति खड्का, महोत्तरी बर्दिबास नगरपालिका-८ का ४६ वर्षीय दयाराम राना, काठमाडौं महानगरपालिका-६ रामनगर बौद्धका ५३ वर्षीय भरतराज पौडेल, दोलखा मेलुङ गाउँपालिका-२ का ४० वर्षीय सन्तोष भण्डारी र खोटाङ खोटेह्याङ गाउँपालिका-७ का २४ वर्षीय गणेशबहादुर मगर रहेका छन्।
उनीहरूको साथबाट गरुड क्यासिनो लेखिएको विभिन्न दरका चिप्स बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद चिप्समा सुन्तला रङका १० थान, १० हजार क्यास लेखिएका पहेँलो रङका ३ थान, १ हजार क्यास लेखिएका रातो रङका ४ थान र नीलो रङको १ थान चिप्स रहेका छन्।
पक्राउ परेकाविरुद्ध जुवा खेल्न खेलाउने नहुनेसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


































