काठमाडौं । कपिलबस्तुमा तस्करी व्यापक रूपमा बढेको छ। आरोपअनुसार जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख एसपी सन्तोष आचार्यको निर्देशनमा घुमुवा प्रहरी हवल्दार ताराचन्द यादव, सत्य कुमार यादव, जवान शैलेन्द्र यादव, वडा प्रहरी कार्यालयका रमेश यादव तथा मर्यादपुर प्रहरी चौकीका हवल्दार संजय प्रसाद बरईमार्फत तस्करहरूसँग रकम असुली गर्ने सेटिङ मिलाइएको आरोप लागेको छ ।
हवल्दार संजय बरईलाई यसअघि तस्करी गराउने, फरार प्रतिवादीलाई पैसा लिएर भगाउने तथा गोप्य रूपमा लागूऔषध कारोबार गरेको विवादका कारण मर्यादपुरबाट जिल्लामा तानिएको भए पनि एसपी आचार्य आएपछि पुनः सोही चौकीमा घुमुवाको जिम्मेवारी दिई तस्करहरूसँग रकम उठाउन पठाइएको आरोप छ । साथै बाहिर दरबन्दी भएका प्रहरीलाई कार्यस्थल नपठाई अवैध धन्धाबाट रकम असुली गर्न निर्देशन दिएको स्थानीयले बताएका छन् ।
मर्यादपुर क्षेत्रबाट मुबारक मुसलमान र कादीर मुसलमानले मकै, मटर, किसमिस तथा जडीबुटीको तस्करी गर्ने तथा अन्य व्यक्तिहरूले किराना, हार्डवेयर, गल्ला र पशु तस्करी गर्दै आएको आरोप छ। यी तस्करीबाट मासिक रूपमा उठाइएको ठूलो रकम घुमुवा हवल्दार संजय प्रसाद बरईमार्फत घुमुवा तारा चन्द यादव हुँदै एसपीसम्म बुझाइने गरिएको आरोप छ ।
रंगपुर क्षेत्रमा कपडा र कबाड तथा कृष्णनगर क्षेत्रमा कपडा र मोबाइलको भन्सार छलि गरी तस्करी भइरहेको र त्यसबाट उठेको रकम घुमुवा तारा चन्द यादवमार्फत एसपीलाई बुझाइने गरिएको आरोप लगाइएको छ । यसैगरी भन्सार कागजात नभएका भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरी डिआइजीको नाम लिएर धम्की दिँदै होटल व्यवसायीहरूसँग निःशुल्क रक्सी तथा पैसा माग्ने गतिविधि भएको होटल व्यवसायीको बताएका छन् ।




































