काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का प्लेअफका खेलहरूका लागि सुदूरपश्चिम रोयल्सले शेल्डन ज्याक्सनलाई टिममा भित्र्याएको छ ।
७,००० भन्दा बढी फर्स्ट–क्लास रन, एक टी–२० शतक र आईपीएलको महत्त्वपूर्ण अनुभव सम्हालेका शेल्डन ज्याक्सन टिममा आवद्ध भएको सुदूरपश्चिम रायेल्सले सोमाबार जानकारी गराएको हो । प्लेअफका खेलका लागि सुदूरपश्चिमले ३९ वर्षीय ज्याकसनमाथि विश्वास गरेको हो ।
ज्याक्सनले मुम्बईमा जुनियर क्रिकेट खेल्थे । उनलाई पहिलोपटक कोलकाता नाइट राइडर्सको छनोट ट्रायल्सका क्रममा पूर्व बंगाल खेलाडी जोयदीप मुखर्जीले स्पट गरेका थिए । सन् २००९ मा कोलकत्ताले उनलाई टिममा अनुबन्धन गर्यो । स्टेट लेभलमा सौराष्ट्रका लागि लगातार तीन वर्षसम्म टोलीमा स्थान पाउन संघर्ष गरे पनि अन्ततः उनले सन् २०११ मा डिसेम्बरमा डेब्यू गरे।
सौराष्ट्रलाई इतिहासमै पहिलोपटक रणजी ट्रफी फाइनल पूर्याउन ज्याकसनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । २०१२–१३ को रणजी ट्रफी सिजनमा, उनले चार अर्धशतक र तीन शतक बनाए । ज्याक्सनले क्वार्टर–फाइनलमा कर्नाटक र सेमिफाइनलमा पंजाबविरुद्ध लगातार दुई शतक पनि प्रहार गरेका थिए । उनका ती उत्कृष्ट प्रदर्शनहरूले सौराष्ट्रलाई इतिहासमै पहिलो पटक फाइनलमा पुग्न मद्दत गरेको थियो ।





































