काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने बताएका छन्।
बिहीबार साँझ भारत आइपुगेपछि पुटिनले युक्रेनले डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता गरेन भने युद्ध अन्त्यको कुनै सम्भावना नरहेको चेतावनी दिएका हुन्। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेसँग उनले भने, ‘कि युक्रेनी सेनाले क्षेत्र छाड्नेछन् कि त हामी बलपूर्वक ती क्षेत्र मुक्त गर्नेछौँ।’
रुसले डोनबासको लगभग ८५ प्रतिशत नियन्त्रण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने उक्त क्षेत्र छाड्न अस्वीकार गरिरहेका छन्।
रुसका राष्ट्रपति पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार साँझ दिल्ली आइपुगेका हुन्। उनीसँगै सात जना मन्त्रीको ठूलो प्रतिनिधिमण्डल पनि भारत आइपुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मोदी र पुटिनबीच आज (शुक्रबार) दुई महत्त्वपूर्ण भेटघाट हुने कार्यक्रम छ।
दुई नेताबीचको द्विपक्षीय भेटघाटका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुनेछ। पुटिनलाई आज स्थानीय समयअनुसार बिहान ९ बजे राष्ट्रपति भवनमा राजकीय स्वागत गरिनेछ। त्यसपछि उनी महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट जानेछन्।
२३औँ भारत रुस वार्षिक शिखर सम्मेलन बिहान ११ बजे हैदराबाद हाउसमा आयोजना हुनेछ। मोदी र पुटिनले शुक्रबार साँझ एक व्यापारिक मञ्चलाई पनि सम्बोधन गर्नेछन्।
आजै साँझ राष्ट्रपति द्रौपदी मुर्मुले पुटिनको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछिन्। बिहीबार साँझ पुटिनलाई स्वागत गर्न प्रधानमन्त्री मोदी आफैँ दिल्ली विमानस्थल पुगेका थिए।
त्यस क्रममा दुई नेताले एकअर्कालाई अँगालो हालेका थिए। विमानस्थलबाट मोदी र पुटिन भारतीय प्रधानमन्त्रीको निवाससम्म एउटै कारमा गएका थिए।






































