बागलुङको जैमिनी नगरपालिकाको उप प्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्राकुमारी रोका क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिएकी छन् । जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राजमो नेतृ क्षेत्रीले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । क्षेत्रीले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले बताए ।
राजमोको तर्फबाट जैमिनी नगरपालिकामा कार्यपालिका सदस्य रहेकी क्षेत्रीले हिजो मात्रै राजीनामा दिएकी थिईन् । सत्ता गठबन्धनको बागलुङ बजारमा चलिरहेको छलफलमा जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चा र उप प्रमुखमा नेपाली कांग्रेसले उमेद्वारी दिने सहमति भएको थियो । तर गठबन्धनको निर्णय बिपरित क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिएकी हुन् ।
निर्वाचन अधिकृत भण्डारीका अनुसार आईतबार जैमिनी नगरपालिकामा चार जना वडाअध्यक्षको उमेद्वारी दर्ता भएको छ । वडा न. २ मा राप्रपाका यज्ञ प्रसाद सापकोटा, ६ मा राप्रपाकै याम बहादुर क्षेत्री, वडा नं। ९ मा मंगोलियन नेशनल अर्गनाईजेसनका सहबिर थापा र वडा न. ३ मा कृष्ण बहादुर पाण्डेले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।





































