काठमाडौं । प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टि जनाउँदै बढुवा समितिविरुद्ध उजुरी परेपछि बढुवा प्रक्रिया रोकिएको छ । गृहसचिवको अध्यक्षतामा हुने एसएसपीको बढुवा समितिले साउन ५ मा ११ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सोही सिफारिसमा नपरेका एसपी विमल बस्नेतले बढुवा समितिविरुद्ध उजुरी दिएपछि प्रक्रिया रोकिएको हो ।
सिफारिसको सात दिनभित्र बढुवाविरुद्ध चित्त नबुझे उजुरी दिने व्यवस्था छ । सोही अवधिमा एसपी बस्नेतले उजुरी दिएका हुन् ।
मेरिट लिस्टको पहिलो नम्बरमा रहँदा पनि आफूलाई छुटाइएको भन्दै उनले उजुरी समितिमा उजुरी गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार, देश बाहिर रहेका बस्नेतले वारेसमार्फत उजुरी पठाएका थिए । उनको उजुरीमाथि छानबिन गर्नुपर्ने भएकाले बढुवा प्रक्रिया रोकिएको हो । एक प्रहरी अधिकारीका अनुसार, गृहसचिव देश बाहिर रहेका कारण हाल उजुरीबारे छानबिन हुन बाँकी छ ।
‘‘उजुरीले बढुवा प्रक्रिया पूरै रोकिने होइन । उजुरी नपरेको भए सात दिनपछि बढुवा कन्फर्म हुने हो । उजुरी परेपछि एक–दुई दिन ढिलामात्रै हुने हो । तर, गृहसचिव नै देश बाहिर रहेका कारण रोकिएको हो,’’ ती अधिकारीले भने ।
गृहसचिव गोकर्णमणि दुवाडी थाइल्यान्डमा छन् । बढुवा सिफारिसविरुद्ध उजुरी गर्ने एसपी बस्नेत ०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर पछि प्रहरीमा स्थानान्तरण भएका अधिकारी हुन् । उनी एसएसपी बढुवाका सबैभन्दा सिनियर एसपी हुन् ।
तर, उनी पटकपटक कारबाहीमा परेका कारण बढुवामा छुट्दै आएका थिए । प्रहरी उच्च अधिकारीका अनुसार, यसपटक पनि कारबाहीस्वरूप बढुवा रोक्का गरिएको हो ।
०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रधान कार्यालयले पाँच वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सोही समय अझै बाँकी रहेका कारण बढुवा सिफारिसमा छुटेका हुन् ।
बढुवा समितिले तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस गरेको थियो ।


































