फाेटाे : प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर
काठमाडौं । असार २४ देखि सम्पर्कविहीन रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी गुल्मीमा भेटिएका छन् । प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले आज असार २६ गते बिहीबार बिहान अध्यक्ष ऋषिकेशव बुढा मगरलाई फोन गरी आफू गुल्मीमा रहेको जानकारी गराएका हुन् ।
रोल्पामा नेपाल टेलिकमको नेटवर्कले काम नगरेकाले कार्यालयको भुक्तानी गर्न ओटीपी कोडका लागि रुकुमपूर्व गएर काम गर्ने भनेका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित ७ कर्मचारी मंगलबार बिहान ७ बजेदेखि बुधबार बेलुकासम्म फोन स्विच अफ गरेर बेपत्ता भएपछि थबाङ गाउँपालिकाले सूचना नै जारी गरेको थियो।
‘उहाँले आज बिहान फोन गर्नुभयो र आफूहरू गुल्मीमा रहेको जानकारी गराउनुभयो’, अध्यक्ष बुढा मगरले भने ।
अध्यक्ष बुढा मगरका अनुसार उनका साथमा सहायक प्रशासन पाँचौँ हरिश माझी, सहलेखापाल यज्ञ प्रसाद कँडेल, सब इन्जिनियर चन्द्रप्रकाश ओली, सब इन्जिनियर निशा आचार्य, खा.पा.स.टे शिवकुमार वली र गाडी चालक प्रदीप केसी छन्।
कार्यालयको कामकाज गर्न रुकुमपूर्व जान्छु भनेका उनीहरू किन गुल्मी पुगे भन्ने विषयमा अहिले जानकारी नभएको गाउँपालिका अध्यक्ष बुढा मगरले बताए।




































