काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी भएका थिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई निकै महत्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताए । “म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्व दिँदै आएको छु” उनले भने ।
चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने उनको धारणा थियो। “कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्। चलचित्र कालजयी पनि हुन्छन्,” भन्दै प्रचण्डले सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उल्लेख गरे ।
उनले बिधयेकका लागि चलचित्र क्षेत्रमा कार्यरत व्यक्तिहरूका सुझावलाई महत्वपूर्ण हुने बताए । “तपाईंहरूको सुझावलाई ग्रहण गर्नुपर्छ। यसले विधेयकलाई सशक्त बनाउँछ,” भने ।