काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) नजिकिएको समयमा शिक्षकहरू आन्दोलित बनेका छन् । सरकारले संसद्मा अघि बढाएको विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग सम्बोधन नभएको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् ।
२०७५ सालमा शिक्षकहरूसँग ५१ बुँदे सम्झौता गरेपनि विधेयक ल्याउँदा आफूहरूका माग सम्बोधन गर्ने प्रतिबद्धताबाट सरकार पछि हटेकाले आन्दोलित हुनुपरेको उनीहरूको जिकिर छ ।
एसईईको छेकोमा शिक्षकहरू आन्दोलित हुने वातावरण नबनाउन सरकारलाई सांसदहरूले समेत ध्यानाकर्षण गराएका थिए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले एसईई नजिकिएको परिस्थितिमा शिक्षकहरू आन्दोलित हुने परिस्थिति सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
शिक्षकका समेत माग सम्बोधन हुनेगरी विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्न उनको ध्यानाकर्षण थियो । ‘एसईई नजिकिएको अवस्थामा आफ्नो पेसामा ध्यान केन्द्रित गर्नुपर्ने शिक्षकहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले शिक्षकहरूसँगको सहमति बेगर पेन्सनसम्बन्धी प्रावधान अध्यादेशमा ल्याएकाले यो परिस्थिति निर्माण भएको हो । शिक्षकहरूलाई आफ्नो पेसामा ध्यान केन्द्रित गर्ने वातावरण बनाउनका निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनको भनाइ थियो ।
नेपाल शिक्षक महासङ्घको अगुवाईमा शिक्षकहरूले गत असोज ३ गतेदेखि ५ गतेसम्म आन्दोलन गरेका थिए । उनीहरूसँग ५ बुँदे सम्झौता भएपनि अस्थायी तथा बाल विकासका शिक्षकहरूले आन्दोलन जारी राखेका थिए । ती शिक्षकसँग समेत असोज १२ गते सम्झौता भएपछि आन्दोलन फिर्ता भएको हो ।