म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा कोभिड –१९ का संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभित्र १३ जना सक्रिय संक्रमित देखिएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक अनुप केसीले जिल्लाको घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका र बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका एवम् जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीहरु रहेको बताए।
जोखिमलाई मध्यनजर गर्दै अहिले उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने र अन्य उपायहरु पनि अबलम्बन गर्नेतर्फ ध्यान केन्द्रीत गरिएको उहाँले बताए । मुस्ताङमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम बजारकी एक जना महिलामा चैत १२ गते पहिलो पटक कोभिड पुष्टि भएको मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट बिसाल तिवारीले बताए । घरमा बालबालिमा समेत विरामी भएपछि परीक्षणका लागि जोमसोम अस्पताल आउनुभएकी महिलाको परीक्षण गर्दा कोभिड पुष्टि भएको तिवारीले जानकारी दिए।

































